टी-२० विश्वकपमा श्रीलंकाले आयरल्याण्डलाई २० रनले हरायो
एजेन्सी : घरेलु मैदान कोलम्बोको आर प्रेमदासा स्टेडियममा सम्पन्न आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह 'बी' अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्याण्डलाई २० रनले पराजित गरेको छ।
श्रीलंकाले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १९.५ ओभरमा १४३ रनमा समेटियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।
श्रीलंकाको इनिङ्समा विकेटकिपर ब्याटर कुशल मेन्डिसले सर्वाधिक रन बनाए। उनले ४३ बलमा ५ चौकासहित ५६ रनको अविजित पारी खेले।
यस्तै, मध्यक्रममा ब्याटिङ गर्न आएका कामिन्दु मेन्डिसले खेलको नतिजा बदल्ने गरी आक्रामक ब्याटिङ गरे।
‘प्लेयर अफ द म्याच’ घोषित कामिन्दुले मात्र १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन जोडे। ओपनर पाथुम निसांकाले २४ रनको योगदान दिए।
आयरल्याण्डका बलरहरूमध्ये जर्ज डक्रेल (४ ओभरमा १७ रन) र ब्यारी म्याकार्थीले २-२ विकेट लिए भने मार्क अडायर र ग्यारेथ डेलानीले १-१ विकेट हात पारे।
१६४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४० रन (३४ बल) र रस अडायरले ३४ रन (२३ बल) बनाए पनि जितका लागि पर्याप्त भएन।
लोर्कान टकरले २१ रन बनाए। टोलीले राम्रो सुरुवात गर्न खोजे पनि मध्य ओभरहरूमा लगातार विकेट गुमाउँदा आयरल्याण्ड दबाबमा आयो।
श्रीलंकाका स्पिनरहरूले आयरल्याण्डका ब्याटरहरूलाई खुलेर खेल्न दिएनन्। महिश थिक्सेना (४ ओभरमा २३ रन) र वानिन्दु हसरंगा (४ ओभरमा २५ रन) ले समान ३-३ विकेट लिए।
तीव्र गतिका बलर मथिशा पाथिरानाले २ विकेट लिँदै आयरल्याण्डको इनिङ्स १९.५ ओभरमा १४३ रनमा समाप्त गरिदिए।
यो जितसँगै श्रीलंकाले समूह 'बी' मा महत्त्वपूर्ण २ अंक बटुलेको छ।
माघ २६, २०८२ सोमबार ०७:३४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।