भारत-पाकिस्तान म्याचको विवाद समाधान गर्न बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष लाहोरमा

भारत-पाकिस्तान म्याचको विवाद समाधान गर्न बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष लाहोरमा

एजेन्सी  : फेब्रुअरी १५ मा हुने टी-२० विश्वकप अन्तर्गतको भारत र पाकिस्तानबीचको खेलमा देखिएको अन्योल हटाउन बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लाम लाहोर पुगेका छन्।

पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने चेतावनी दिएपछि यो विवाद समाधान गर्न वार्ता प्रक्रिया तीव्र पारिएको छ।

इस्लामले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीसँग भेटवार्ता गर्नेछन्। उक्त छलफलमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का निर्देशक इमरान ख्वाजा पनि सहभागी हुनेछन्।

आईसीसीका निर्देशक ख्वाजा र मुबाशिर उस्मानीले विगत दुई हप्तादेखि यो विवाद सुल्झाउन अनौपचारिक रूपमा पहल गरिरहेका छन्।

यो विवादको मुख्य कारण बंगलादेशलाई टी-२० विश्वकपबाट हटाइनु हो। बंगलादेशलाई हटाइएको विरोधमा ऐक्यबद्धता जनाउँदै पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारतविरुद्धको खेल नखेल्न निर्देशन दिएको थियो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि यसै कारण खेल बहिष्कार गर्न भनिएको उल्लेख गरेका छन्। बीसीबी अध्यक्षको लाहोर भ्रमणलाई पनि पीसीबीले बंगलादेशप्रतिको आफ्नो समर्थनकै निरन्तरताको रूपमा लिएको छ।

यस विषयमा आईसीसीले पीसीबीसँग खेल बहिष्कार गर्नका लागि अघि सारिएको ’फोर्स मेजर’को कारणबारे स्पष्टीकरण मागेको छ।

आईसीसीले यस्तो कदम चाल्दा हुने खेलकुद, व्यापारिक र प्रशासनिक असरबारे पनि सर्तहरू स्पष्ट पारेको बुझिएको छ। यता पीसीबीले भने आफूहरू आईसीसी समक्ष नगएको बरु आईसीसीले नै सम्पर्क गरेको संकेत गरेको छ।

स्मरण रहोस्, आईसीसीको बैठकमा बंगलादेशलाई विश्वकपबाट हटाउने निर्णयको विपक्षमा भोट हाल्नेमा पीसीबी मात्र एक अर्को बोर्ड थियो।

पीसीबी अध्यक्ष नक्वीले आईसीसीको यो निर्णयलाई दोहोरो मापदण्ड भन्दै बंगलादेशमाथि अन्याय भएको बताएका छन्। पाकिस्तान यो विवाद समाधान गर्दा बंगलादेशको पक्षमा पनि केही निकास निस्कियोस् भन्ने चाहन्छ।

भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल अर्को आइतबार कोलम्बोमा हुने तय भएको छ। शनिबार भएको आ-आफ्नो पहिलो खेलमा दुवै टोलीले जित हात पारेका छन्।

माघ २६, २०८२ सोमबार ०७:२४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।