नेपाली महिलाको श्रमलाई 'अंक' मा देखाउने विदुषी
५० वर्षसम्म नेपालको अर्थतन्त्र, लैङ्गिक सम्बन्ध, वैदेशिक सहयोग, श्रम बजार, राजनीति, गरिबी र असमानता जस्ता विषयमा गहिरो अनुसन्धानमा संलग्न मीना आचार्यको भौतिक शरीर माघ २२ मा अस्तायो। उमेरले ८८ पुगेकी उनी यस्ती नेपाली महिला हुन् जसले पढ्नै भारत,रुस र अमेरिका पुगिन् अनि नेपाल फर्केर नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर समेत भइन्।
मीनाले गरेका अनुसन्धान अमूल्य त छन् नै नेपाली महिला र पुरुषबीच श्रम विभाजनमा कति गहिरो लैंगिक खाडल छ भन्ने अनुसन्धान ऐतिहासिक दस्ताबेज समेत हो।
यी बाहेक आचार्यका एक दर्जनभन्दा बढी पुस्तक, दर्जनौं प्राज्ञिक लेख तथा अनुसन्धान प्रकाशित छन्। उनले विश्व बैंक, युएनडिपी, एसियाली विकास बैंकजस्ता संस्थामा परामर्शदाताको रूपमा काम गरे पनि अनुसन्धानलाई कहिल्यै छाडिनन्। नीति तथा अनुसन्धान प्रतिष्ठानको सञ्चालक समिति सदस्य भइसकेकी उनले जीवनको आखिरी दिनमा आत्मकथा र लेखका सङ्ग्रह प्रकाशन गरिन्।
जिउँदो शहीदकी छोरी!
१९९४ सालमा काठमाडौँको धोबी खोलामा बुबा टंकप्रसाद आचार्य र आमा रेवन्तकुमारी आचार्यकी जेठी सन्तानको रूपमा मीनाको जन्म भयो। उनका बुबा टंकप्रसाद नेपालको पहिलो संगठित राजनीतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष थिए। जिउँदा शहीद भनेर चिनिने आचार्य मीना जन्मिँदा कारागारमै थिए।
बुबा जेल परेपछि भने धनुषाको सिर्सिया गाउँमा पु-याइयो। त्यहाँ उनका हजुरबुबाले अति माया गरेर हुर्काए। उनलाई त्यतिबेला हजुरबुबाले भन्थे रे, ‘छोरा जेल परिहाल्यो, यही रैछ मेरो छोरा।’
धनुषाको धुले स्कुलमा उनले कखरा सिकिन्। उनकी आमा रेवन्तकुमारीले आफ्नै प्रयासले लेखपढ गर्न जानेकी थिइन्। उनलाई त्यो बेला एबिसिडी लेखपढ गर्न आउँथ्यो। आफूले सिकेका कुरा नै छोरीलाई पनि पढाउँथिन्।
२००४ सालमा काठमाडौँको गौशालामा आधार स्कुल उनी त्यही पढिन्। त्यहीँ उनी, उनकी बहिनी र रामहरि शर्माका छोरीहरू भर्ती भए। सात सालको आन्दोलन हुँदा उनी १२ वर्षकी थिइन्। उनी त्यो बेला आन्दोलनलाई सघाउ पुर्याउन पत्रिका र सूचना आदानप्रदानमा सहभागी हुन्थिन्। सन् १९५५ मा उनले म्याट्रिक दोस्रो श्रेणीमा उत्तीर्ण गरिन्। आइए पढ्ने बेलामा उनका बुबा टंकप्रसाद आचार्य प्रधानमन्त्री थिए।
पद्मकन्या क्याम्पसमा आइएमा भर्ना भएकी उनी इन्टरकलेज युनियनमा पद्मकन्या कलेजको तर्फबाट प्रतिनिधि थिइन्।उनका बुबा देशका प्रधानमन्त्री थिए। शिक्षामन्त्री डिल्लीरमण रेग्मी थिए। पद्य कन्या कलेजमा भारतीयलाई क्याम्पस प्रमुख बनाइयो भनेर विद्यार्थीले विरोध गरे त्यसको अग्रपङ्तीमा मीना समेत थिइन् । पछि बाध्य भएर भारतीयलाई हटाएर नेपालीलाई नै राखियो।
हक्की र निडर
मीना सानैदेखि निडर र हक्की स्वभावकी थिइन्। छोरी मान्छेलाई घर देखि पर जान नदिने समयमा उनी भने साथीहरूको सर्कल बनाएर साइकलमा काठमाडौँ घुम्थे। त्यतिबेला बेला केटी मान्छेले साइकल चढ्यो भने सबै जनाले के के न भयो भने जसरी हेर्ने गर्थे।
उनीहरू हामी साइकल चढेर डिल्लीबजार–नारायणहिटी–उत्तर ढोका हुँदै पकनाजोलसम्म जान्थे। आसपासका टोले केटाहरू नारायणहिटीको ढोकामा बस्ने सेना र पुलिसले समेत मीनाहरूको समूहलाई देखेर छाडा बोल्थे।
आइए पास गरेपछि मीनाले भारतको युनिभर्सिटी अफ दिल्लीबाट अर्थशास्त्रमा बीए अनर्स (सन् १९६०), सोभियत संघको मस्को युनिभर्सिटीबाट आर्थिक साइबरनेटिक्समा एम.एस. (सन् १९६६) र संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट विकास अध्ययनमा विद्यावारिधि (सन् १९८७) मा गरिन्।
अर्थशास्त्र पढ्दा मीनाले यो पढेर देशका लागि के योगदान गर्न सक्छु भनेर बारम्बार घोत्लिने गर्थिन्। अर्थशास्त्र पढेपछि विकासका आयामबारे बुझ्न पाइन्छ भनेर त्यो विषय पढेको पंत्तिकारसँगको भेटमा मीनाले बताएकी थिइन्।
नागरिकता र विवाह
सन् १९६२ मा मीनाले आफ्नै युनिभर्सिटीमा पढ्ने भिक्टर सिम्भाकोभसँग विवाह गर्ने भइन्। यो कुराले उनको परिवार मात्रै हल्लिएन रसियास्थित नेपाली राजदूतावास पनि हल्लियो। त्यतिबेला नेपालको नागरिकता ऐनमा यदि नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे नेपाली महिलाको नागरिकता स्वतः खारेज हुने व्यवस्था थियो।
उनीहरूको पढाइ सकिने बेलासम्म नेपालको नागरिकता ऐनमै परिवर्तन भयो। व्यक्तिले नागरिकता नछाडेसम्म अथवा अन्य देशको नागरिकता नलिएसम्म उसको नागरिकता नजाने कानुन बन्यो। मीना, एम.एस डिग्री डिस्टिङसन सहित श्रीमान् भिक्टर र छोरी लिएर काठमाडौँ आइन्। पछि भिक्टर सोभियत संघको सहायतामा यहाँको महेन्द्र राजमार्ग बनाउने काममा रोजगार भए। मीना त्यतिबेला अनुसन्धान अधिकृतको रूपमा राष्ट्र बैंकमा कार्यरत भइन।
सिमरामा छोरी सहित बस्ने उनी वीरगन्जमा छोरी घुमाउन जाँदा अबेर भयो । उनी सिमरामा फर्कन पाइनन्। भोलिपल्ट फर्कँदा उनका श्रीमानले एकवचन नबोली गालामा थप्पड हाने। मीनाले ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रामा’ आफ्नो पुस्तकमा उल्लेख भए अनुसार मीनालाई लाग्यो यो मान्छेले घरको चौघेरा तोडेर नजाओस् भन्ने चाहेको छ। यो म बाट सम्भव हुँदैन भनी सम्बन्ध विच्छेद गरिन्।
अनुसन्धानमा निरन्तर
सन् १९७७ मा पर्सी कमिसनको प्रतिवेदनलाई अमेरिकी कांग्रेसले स्वीकृति गरेपछि अमेरिकाले आर्थिक सहयोग दिने सबै राष्ट्रले महिलाको स्थितिबारे अध्ययन गराउनु पर्ने भयो। अनि महिलाको मर्यादा स्तरको अध्ययनसम्बन्धी प्रस्ताव नेपाल ओर्लियो।
नेपालमा यो प्रोजेक्ट न्यु एराका एले डिफेन वेकरले पाएका थिए। उनले लिन बेनेटलाई अनुरोध गरेपछि लिनले मीनालाई भेटेर नेपाली महिलाहरूको मर्यादा स्तरबारे अध्ययन/अनुसन्धानमा सहभागिताका लागि अनुरोध गरिन, उनले सहर्ष स्वीकार गरिन्।
उनीहरूले सानो समूह बनाएर काम सुरु गरे। परियोजनाले आर्थिक, सामाजिक, कानुनी तथा विविध पक्षबारे महिलाहरूको स्थितिबारे अध्ययन-अनुसन्धान गर्ने भयो। यो परियोजनाका निमित्त सरकारबाट स्वीकृति लिन पनि उनीहरूलाई गाह्रो परेको थियो। अर्थ मन्त्रालयको स्वीकृति लिन अर्थ मन्त्रालयका सचिव देवेन्द्रराज पाण्डे भएको ठाउँ गए ।
पाण्डेले ‘देशको अर्थतन्त्र हाँकेर बसेको मान्छे के को भात कति पकाउँछन् के खान्छन् अध्ययन गर्न जाने भनेर गाली समेत गरे तर मीनाले अनुसन्धान हुनुपर्छ भन्ने अड्डी कसिन् । जात अनुसारको महिलाको स्थिति फरक भएको उनको अनुसन्धानले देखायो।
उनीहरूले कामकाजी पुरुषले भन्दा घरायसी महिलाले दैनिक बढी घण्टा काम गर्ने समेत अनुसन्धानमा पत्ता लगाए । उनीहरूको यो नेपालको लैंगिक अनुसन्धानमा कोशेढुंगा मानिन्छ ।
मीना निरन्तर अध्ययन गर्नु पर्ने भन्ने धारणा त राख्थिन् नै यो पंत्तिकार सित भेट हुँदा लगाउने खाने कुरामा ध्यान नदिने तर आफूले पढेको विषयमा विषयगत दक्षता राख्नु पर्ने निरन्तर भन्ने गर्थिन्।
मार्टिन चौतारीमा उनका दुई भोल्युम पुस्तकको विमोचनको बेला मात्रै पंत्तिकार सित यो जाडोले त लगेन अर्को जाडोमा त के कटिएला भन्थिन् कटिनन् । उनको निरन्तर यात्रामा पूर्णविराम लाग्यो ।
अलबिदा विदुषी मीना दिदी!
माघ २५, २०८२ आइतबार २१:२७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।