प्रसाईँको अराजकतामा लाचार सरकार : समात्दै, चुनाव भाँडिने डरले जमानीमा छाड्दै

प्रसाईँको अराजकतामा लाचार सरकार : समात्दै, चुनाव भाँडिने डरले जमानीमा छाड्दै

काठमाडौं : निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा निर्वाचन आयोगको निवेदन र आग्रहका आधारमा दुर्गा प्रसाईँ दुई पटक पक्राउ परिसके। तर निर्वाचन भाँडिने डरले सरकारले दुवै पटक उनलाई हाजिरी जमानीमा रिहा गर्यो।

यस अगाडि नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिन ५२ करोडको खेल भएको दाबी गरेको आधारमा आयोगले प्रहरीको साइबर ब्युरोमा उजुरी गरेपछि प्रसाईँ पक्राउ परेका थिए। उनले आफू निकट युट्युवरहरुलाई बोलाएर मोबाइलमा प्रमाण भन्दै देखाउँदै विशेष महाधिवेशनलाई मान्यता दिन आयोगमा ५२ करोडको खेल भएको दाबी गरेका थिए।

उनले पत्रकार सम्मेलन गरेर सहयोगीसँग मोबाइल मागेर पैसा देखाइदिने भन्दै आफ्नो मोबाइलमा एक भिडियो देखाएका थिए।  उनले भिडियो देखाउँदै ५२ करोडमा गगन समूहले रुख र झन्डा पाएको दाबी गरेका थिए। लगत्तै निर्वाचन आयोगले प्रसाईँको सो दाबीको विरोधमा साइबर ब्युरोमा उजुरी दिएपछि उनी पक्राउ परे पनि तत्काल हाजिर जमानीमा रिहा भइहाले।

उनी शुक्रवार पुन दक्षिणकालीको चाल्नाखेलमा पक्राउ परेका थिए। उनी काठमाडौंबाट पर्साको वीरगन्जमा सभा गर्न हिँडेका थिए। निर्वाचन आचारसंहिता विपरीत उनी निर्वाचन विरोधी काममा सहभागी हुन जान लागेको आयोगको जानकारीका आधारमा प्रहरीले पक्राउ गरे पनि उनलाई ब्युरोमै लगियो। ब्युरोले सरकारी वकिलको कार्यालयको निर्णयको हवालादिँदै उनलाई आइतबारै हाजिर जमानीमा रिहा गर्यो।

पक्राउ गर्ने अनि छाड्ने प्रहरी र प्रसाईँबिचको यो मुसो र बिरालोको खेलमा मुख्य निर्वाचन आयोगको असन्तुष्टि र सरकारको लाचारी देखिन्छ। सरकारले केही समय अगाडि प्रसाईँसँग उनीसहित उनको समूहका अन्यको मुद्दाहरू फिर्ता लिसेसहितको सर्तमा सहमति गरेको थियो।

निर्वाचन विरोधी अन्य समूह निष्क्रिय रहेको तर प्रसाईँ सक्रिय देखिएपछि निर्वाचन भाँडिने भयले सरकारले प्रसाईँसँग सहमति गरे पनि प्रसाईँले निर्वाचन विरोधी गतिविधि गर्न छाडेका छैनन्। तर सरकार उनलाई कानुनी कार्वाहीको दायरामा ल्याएर प्रक्रिया पुरा गर्न पनि सकेको छैन।

यस अगाडि नै प्रसाईँ विरुद्ध विभिन्न साइबर अपराधको अभियोग र गत चैत १५ मा तीनकुनेमा गरेको विरोध प्रदर्शनपछि पत्रकार मारिएको लगायतका घटनामा संगठित अपराधसहितको अभियोग लागेको थियो। उनी पुराना मुद्दाहरूमा आफू क्यान्सर सर्भाइवर रहेको भन्दै अदालतबाट धरौटीमा निस्किरहेका छन्। 

चैत १५ को घटनामा पनि उनी भागेर भारतमा लुकेको अवस्थामा पक्राउ गरेर नेपाल ल्याइएको थियो। केही समय पुर्पक्षका लागि थुनामा परे पनि उनी पछि त्यही क्यान्सर सर्भाइवर भन्दै धरौटीमा छुटेका थिए।

माघ २५, २०८२ आइतबार १९:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।