टी-२० वर्ल्ड कपको पहिलो खेलमा इंग्ल्यान्डको सात्तो लिए पनि जित निस्किएन
काठमाडौं : लोकेश बम चम्कँदा गुमिसकेको खेल लयमा फर्किए पनि टी-२० वर्ल्ड कपको पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग पराजित भयो। जितका लागि अन्तिम बलमा छ रन चाहिएको थियो।
बम नै क्रिजमा थिए। तर सम्भव भएन। एक रन मात्र आउँदा नेपाल पराजित भयो। इङ्ग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० मात्र बनाउन सक्यो। झिनो रनले पराजित भएको नेपालको खेलको प्रशंसा भयो।
विश्व विजेता रहेको इङ्ग्ल्यान्डका ब्याटर र बलर दुबैलाई नेपाली खेलाडीहरूले कडा चुनौती दिएका थिए। बलर र ब्याटर दुबै चले पनि अन्तिममा भाग्यले साथ दिएन। जितका लागि दुई बलमा ६ रनको स्कोरसम्म खेल पुगे पनि अन्तमा लक्ष्य पुरा हुन सकेन।
कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र ब्याटर लोकेश बमले निकै उत्कृष्ट खेल देखाए। ऐरीले २९ बलमा ४४ रन बनाए। रोहितले ३४ मा ३९ रन बनाएका थिए। बमले २० बलमा ३९ रन बनाए। कुशल भुर्तेल १७ बलमा २९ रन बनाएर आउट भएका थिए।
आसिफ शेख, गुलसन झा र करण केसी भने टिक्न सकेनन्। तर अन्तिमसम्म लोकेशले खेललाई जिततिर लम्काएका थिए। तर उनी एक्लै सफल हुन सकेनन्। बलिङमा नन्दन यादव, दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए। शेर मल्ल र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए।
कुशल भुर्तेलको बलिङ नेपालका लागि अलि महंगो भयो। चार ओभर बलिङ गरेर उनले १० को रन रेटमा ४० रन दिएका थिए। करण र शेर मल्लले पनि ११.६७ को रन रेटले रन दिए। दुबैले तीन-तीन ओभर बलिङ गरेर ३५-३५ रन दिएका थिए।
माघ २५, २०८२ आइतबार १८:५३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।