दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलनको  उद्घाटन गर्दै उनले राज्यले सबै जाति र समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि मात्र राजनीतिक स्थायित्व सम्भव हुने धारणा राखेका हुन्।

‘देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ’, राष्ट्रपति पौडेलले भने, ‘राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायित्व सम्भव हुने हो भन्ने हामीले बिर्सन हुन्न।’

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको र हाम्रो राष्ट्रियगानले व्यक्त गरे झैँ नेपाल सयौँ थुङ्गाका फूलहरू मिलेर बनेको सुन्दर फूलबारी भएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले आदिवासी जनजातिका भाषा, लिपि, संस्कृति र परम्परा केवल सांस्कृतिक सम्पदा मात्र नभई नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू भएको प्रस्ट पारे। यी मौलिक सम्पदाको संरक्षण र विकासका लागि राज्यले नीतिगत र संरचनागत रूपमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

 उनले आदिवासी ज्ञान प्रणाली सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ भएकाे धारणा राखे।

 ‘नेपालका विभिन्न सूचीकृत आदिवासी जनजातिसँग सम्बन्धित परम्परागत ज्ञान, कृषि प्रणाली, कला, भाषा, विश्वदृष्टि तथा आध्यात्मिक अभ्याससम्म फैलिएको आदिवासी ज्ञान र बुद्धि एक जीवित राष्ट्रिय भण्डार हो’, उनले भने, ‘जसले हाम्रो समाजलाई सहअस्तित्व, सहिष्णुता र समृद्धितर्फ मार्गनिर्देशन गरिरहेको छ।’

माघ २५, २०८२ आइतबार १६:४२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।