बालेनको घरमा चोरी गर्ने तीन जना पक्राउ, मुख्य योजनाकार जेनजी आन्दोलनमा नख्खुबाट भागेका कैदी

बालेनको घरमा चोरी गर्ने तीन जना पक्राउ, मुख्य योजनाकार जेनजी आन्दोलनमा नख्खुबाट भागेका कैदी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने भदौ २४ गते नख्खुबाट फरार रहेका व्यक्ति रहेको खुलेको छ। प्रहरीले तीन जनालाई केही सामानसहित पक्राउ गरेपछि यो तथ्य खुलेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीले राजवाहकलाई माघ २३ मा बाँसबारीबाट गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार राजवाहकलाई यसअघि २०७२ जेठ २४ मा प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको थियो भने उनलाई २०७२ असार ८ मा प्रहरी वृत्त महाराजगन्जले चोरीको कसुरमा पक्राउ गरेर मुद्दा चलेको थियो।

उनी चोरीकै कसुरमा ३ वर्ष ६ महिना कैद सजाय पाएर नख्खु कारागारमा रहँदा भदौ २४ को जेनजी आन्दोलनको क्रममा नख्खुमा रहेका रास्वपाका सभापति रवि लामिछाने निस्किएपछि उनीसहित अन्य कैदी बन्दीसमेत निस्किएका थिए।

प्रहरीका अनुसार उनी नख्खु कारागारबाट भागेपछि पाँच वटा चोरीका घटनामा संलग्न रहेको खुलेको छ। उनी काठमाडौं महानरपालिका–२६ मा रहेको क्लासिक एन्ड लज इन गेस्ट हाउसमा बस्ने गरेका थिए। खिमबहादुर पनि माघ २४ मा जडीबुटीबाट पक्राउ परेका थिए। उनी बैंकिङ कसुर मुद्दाका फरार रहेको खुलेको छ।

श्रेष्ठलाई पनि प्रहरीले माघ २४ मै बालाजुबाट पक्राउ गरेको थियो। उनी विरुद्ध पनि २०६४ कात्तिक २९ मा जबरजस्ती करणीको मुद्दा चलेको खुलेको छ।

माघ २५, २०८२ आइतबार १६:२१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।