इस्लामावादमा भएको आत्मघाती विस्फोटको मुख्य योजनाकार पक्राउ

इस्लामावादमा भएको आत्मघाती विस्फोटको मुख्य योजनाकार पक्राउ

 एजेन्सी : पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरिएको छ।

गृहमन्त्री मोहसिन नकवीका अनुसार आक्रमणको योजनाकार भनिएका एक अफगान नागरिक पनि पक्राउ परेका छन्।

गृहमन्त्री नकवीले विस्फोटको योजनाकार आईएसआईएससँग सम्बन्धित एक अफगान नागरिक रहेको दाबी गरे।

पक्राउका क्रममा एक काउन्टर–टेररिजम अधिकारीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। इस्लामिक स्टेट समूहले विस्फोटको जिम्मेवारी लिएको जनाएको छ।

उनले आक्रमणको सम्पूर्ण योजना र प्रशिक्षण अफगानिस्तानमै भएको बताएका छन्।

'हामीसँग अहिले हिरासतमा रहेका व्यक्तिहरूले आक्रमणकारीलाई कसरी पाकिस्तान ल्याइयो र कसरी प्रशिक्षण दिइयो भन्नेबारे विस्तृत जानकारी दिएका छन्,' गृहमन्त्री नकवीको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।

गृहमन्त्री नकवीले अफगानिस्तानसँगै भारतलाई पनि घटनाको प्रायोजक भनेर आरोप लगाएको छन्।

उनले अफगानिस्तानबाट सञ्चालन भइरहेका आतङ्कवादी सञ्जाललाई भारतले आर्थिक सहयोग गरिरहेको आरोप लगाएका छन्। तर भारतीय विदेश मन्त्रालयले विस्फोटको आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेको छ। 

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा इस्लामाबादको मस्जिदमा भएको बम विस्फोट निन्दनीय रहेको र भारतले ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेको जनाएको थियो।

इस्लामावादको तरलाईस्थित इमामबाडामा रहेको शिया मस्जिदमा भएको विस्फोटमा ३१ जनाभन्दा बढीको मृत्यु भएको थियाे भने १७० जनाभन्दा बढी घाइते भएका थिए। 

पछिल्लो एक दशकयताकै सबैभन्दा घातक आक्रमण भएको अधिकारीहरूले बताएका छन्।

माघ २५, २०८२ आइतबार १४:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।