‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान चलाउने कांग्रेसको निर्णय

‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान चलाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले आगामी आमनिर्वाचनलाई लक्षित गर्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। 

आइतबार सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले आगामी फागुन १ देखि २१ गतेसम्मका लागि यो अभियान सञ्चालन गर्ने निर्णय गर्यो।

निर्वाचनमा नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थित ढंगले परिचालन गर्न कांग्रेसले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका-२०८२’ समेत पारित गरेको छ। उक्त निर्देशिकामा अभियानका दौरान नेता-कार्यकर्ताहरूले पालना गर्नुपर्ने कार्यविधि र जिम्मेवारीहरू उल्लेख गरिएको छ।

पार्टीले यस पटक ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति अघि सारेको छ। यसअनुसार केन्द्र, प्रदेश, जिल्ला वा क्षेत्रमा विशिष्ट जिम्मेवारी पाएका नेताहरूले आफ्नो तोकिएको काम सम्पन्न गरी आफ्नै निर्वाचन क्षेत्रमा फर्किएर क्रियाशील हुनुपर्नेछ।

निर्देशिकामा भनिएको छ, “फागुन २१ का लागि मेरो २१ दिन भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म 'जसको पदीय जिम्मेवारी जहाँ /उसले खट्ने त्यहाँ' नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।”

बैठकले सांगठनिक अनुशासन र प्रभावकारिताका लागि क्रियाशील सदस्य अर्को वडाभन्दा आफ्नै कार्यक्षेत्रमा केन्द्रित हुनुपर्ने निर्णय गरेको छ। यसैगरी, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थामा आबद्ध नेता-कार्यकर्ताहरूलाई पनि आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर चुनावी गतिविधिमा सहभागी हुन आग्रह गरिएको छ।

माघ २५, २०८२ आइतबार १३:५४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।