कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक जना घाइते
कञ्चनपुर ः कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका-६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा छ वर्षीया छोरी रोजिना साउदको मृत्यु भएको हाे।
गए राति जङ्गली हात्तीले साउदको घरमा आक्रमण गरेको थियो। घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद घाइते भएकी छन्।
आक्रमणपछि दुबै जनालाई उपचारका लागि धनगढीस्थित नवजिवन अस्पताल लगिएको थियो।
प्रवक्ता शाहीका अनुसार घाइते छ वर्षीया रोजिनाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो।
घाइते पार्वतीको सोही अस्पतालमा उपचार भइरहेको छ।
माघ २५, २०८२ आइतबार १२:२३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।