स्वास्थ्य बिमा बन्द हुन दिन्नौं, 'राष्ट्रिय गौरवको आयोजना' बनाएरै छोड्छौं : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन नदिने बताएका छन्। हाल अस्तव्यस्त जस्तो बनेको बिमालाई 'राष्ट्रिय गौरवको आयोजना' का रूपमा अघि बढाउने पर्ने उनको भनाई छ।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै थापाले बिमा कार्यक्रममा देखिएको समस्यालाई स्वीकार गर्दै भने, "अनफर्चुनेट्ली अहिले बिमाको कार्यक्रम अस्तव्यस्त भएको छ। मैले समाचारहरू पढ्दै गर्दा यो त बन्दै हुने हो कि भन्ने जस्तो स्थिति भएको छ। त्यस कारणले गर्दाखेरि यसलाई सच्याउनुपर्ने, सुधार्नुपर्ने त छँदै छ।"
उनले बिमा कार्यक्रमलाई सच्याएर जुन सोचका साथ सुरु गरिएको थियो, त्यही ठाउँसम्म पुर्याउन कांग्रेस प्रतिबद्ध रहेको प्रष्ट पारे। स्वास्थ्य सेवालाई परोपकारभन्दा पनि नागरिकको सुरक्षा र संवैधानिक अधिकारका रूपमा लिनुपर्ने थापाको तर्क छ। स्वास्थ्य संवैधानिक अधिकार भएको र सरकारको जिम्मेवारी विषय भएको उल्लेख गर्दै उनले उक्ता जिम्मेवारी पूरा गर्न स्वास्थ्य बिमाको कार्यक्रम नै सबैभन्दा महत्त्वपूर्ण औजार भएको दाबी गरे।
उपचार गर्दागर्दै आफ्नो धन सम्पत्ति सबै सकिएको, बल्लतल्ल मेहेनत गरेर गरिबीबाट बाहिर निस्केको छ, कडा रोग लाग्यो परिवारको कुनै सदस्यलाई, उपचार गर्दागर्दै घरखेत जाने स्थिति बनेको" पाइएकाले त्यस्तो अवस्था फेर्न आफू स्वास्थमन्त्री हुँदा स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको उनको भनाई छ।
नेपालमा स्वास्थ्य उपचारमा नागरिकले खल्तीबाट गर्ने खर्च (आउट अफ पकेट एक्सपेन्डिचर) ५७ प्रतिशत पुगेको र यो मापदण्डभन्दा तीन गुणा बढी भएको तथ्य प्रस्तुत गर्दै उनले अब सबै नागरिकलाई अनिवार्य बिमामा ल्याइने योजना सुनाए। थापाले रक्सी र चुरोट जस्ता हानिकारक वस्तुमा 'एयरमार्क' गरेर विशेष ट्याक्स लगाउने र त्यसको पैसा स्वास्थ्य बिमामा खर्च गर्ने रणनीति अघि सारे।
त्यस्तै, छरिएर रहेका सामाजिक सुरक्षाका सबै कार्यक्रमहरूलाई बिमाअन्तर्गत नै ल्याउने र तीनै तहका सरकारको स्वास्थ्य प्रणालीलाई एकीकृत गरिने उनको भनाइ छ। बिमा बोर्डको सुशासनमा देखिएको समस्या समाधान गर्न र चुहावट रोक्न 'रियल-टाइम डिजिटल सिस्टम' बनाउने पर्ने उनले बताए।
बिमाको क्लेम र भुक्तानीलाई चुस्त बनाउँदै पाँच वर्षभित्र हरेक नेपालीले पूर्ण स्वास्थ्य सुरक्षा पाउने उनको दाबी छ। थापाले भने, "एउटा नेपाली नागरिकले स्वास्थ्य बिमा लिइसकेपछि जति खर्च लागे तापनि केही नेगेटिभ लिस्ट भन्दा बाहेकका अरू सबै कुरा बिमाले कभर गर्ने ठाउँसम्म पुर्याउन सकिन्छ। यस्तो हुन सक्यो भने कसैले पनि खल्तीमा पैसा भएन त्यस कारणले गर्दा मेरो उपचार भएन भन्नुपर्दैन।"
अबको निर्वाचन पछाडिको पाँच वर्षे कार्यकालमा बिमाको कभरेजलाई व्यापक विस्तार गरी कुनै पनि नागरिकले उपचारका लागि ऋण खोज्नु नपर्ने र घरखेत बेच्नु नपर्ने अवस्थाको ग्यारेन्टी गरिनुपर्नेमा थापाको जोड छ।
माघ २५, २०८२ आइतबार १२:०६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।