खोटाङमा बिहे भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी, शिविरमार्फत उपचार सुरु
खोटाङ : खोटाङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी परेका छन्। जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङमा विवाह भोज खाएका बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ।
भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ।
विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको स्थानीयवासी वीरबल किरातीले जानकारी दिए। यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन्।
बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन्।
विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए।
स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका लागि शिविरमा आउनेजानेक्रम जारी रहेको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए। उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको व्यवस्था मिलाइएको हो।
भोज खाएका जति सबै स्थानीय बिरामी परेका गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिए।
“शिविरमा अहिले पनि ३५ जनालाई स्लाइनपानी र औषधि दिएर उपचार गरिरहेका छौँ। विवाह भोज खाएका सबै बिरामी भएका छन्”, उनले भने “विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ। शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ। उनीहरूको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ।”
केही उपचारपछि घर फर्किएका स्वास्थ्यकर्मीहरूले बताएका छन्। भोजमा भएको ‘फुडपोइजन’को कारण पत्ता लगाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले बताए।
बिरामी चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। प्रभावित क्षेत्र बाहिरका तथा जटिल किसिमका बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो।
माघ २५, २०८२ आइतबार ११:०९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।