मिसन पुस्तान्तरण-१६ : युवा नेतृत्व प्रमाणित गर्न बर्दिया- २ मा बिमलाको ‘अग्निपरीक्षा’

मिसन पुस्तान्तरण-१६ : युवा नेतृत्व प्रमाणित गर्न बर्दिया- २ मा बिमलाको ‘अग्निपरीक्षा’

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको केन्द्रबिन्दुमा युवा उम्मेदवारहरू छन्। सडकमा पोखिएको राजनीतिक पुस्तान्तरणको उत्कट चाहना, हस्तक्षेप र बदलिएको जनअपेक्षापछि दलहरू उम्मेदवार छनोटको मापदण्ड नै बदलेर निर्वाचनमा युवाहरूलाई उम्मेदवार बनाउन बाध्य हुनपर्यो।

बदलिएको राजनीतिक माहोल र युवालाई नेतृत्व सुम्पिनुपर्ने दबाबका बीच एमालेले ४० वर्ष मुनिका १३ जना युवालाई चुनावी मैदानमा उतार्यो। तीमध्येकी एक हुन्- ४० वर्षीया बिमला बिक। बर्दिया निर्वाचन क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेकी बिमला यसअघि नै समानुपातिक सांसद र राज्यमन्त्रीको अनुभव बटुलिसकेकी पात्र हुन्।

तर, यस पटकको निर्वाचन उनका लागि केवल पुरानो विरासत जोगाउने दाउ होइन, बदलिएको राजनीतिक चेत र युवा नेतृत्वप्रतिको जनअपेक्षालाई प्रत्यक्ष मतमार्फत अनुमोदन गराउने चुनौतीपूर्ण परीक्षा हो। १५ जना प्रतिस्पर्धी रहेको बर्दिया- २ को चुनावी अंकगणित छिचोलेर पुनः संसदको यात्रा तय गर्नु उनका लागि त्यति सहज भने देखिँदैन।

सात कक्षा देखि नै ‘कम्युनिष्ट’ राजनीतिको रस

बर्दियाको मधुवन नगरपालिका- ६ श्रीनगरकी स्थानीय बिमला गाउँमा नै हुर्किइन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेकी उनले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक (एलएलबी) समेत गरेकी छन्। त्यस्तै चीनबाट ‘पब्लिक पोलीसी एण्ड एमिनिष्ट्रेशन’ विषयमा स्नातकोत्तर गरेकी उनलाई बाल्यकालदेखि नै राजनीतिप्रति लगाव थियो।

सात कक्षातिर पढ्दा नै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आबद्ध भएर काम गरेको उनले सुनाइन्। पार्टीको विभिन्न संगठन र जिम्मेवारीमा रहेर काम गरेकी बिमला गत मंसिरमा भएको एमालेको ११औँ महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भइन्।

४० वर्षीय बिमलालाई ८ वर्ष अघि नै २०७४ एमालेले समानुपातिक कोटाबाट सांसद बनाएको थियो। २०७७ मा उनले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा रहेरसमेत काम गर्ने अवसर पाइन्।

एमालेको विद्यार्थी राजनीति हुँदै विभिन्न संगठनमा रहेर काम गरेर बिमलाले पार्टी नेतृत्वको विश्वास जित्न सफल भइन्। र पार्टीले पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएर उनलाई बर्दिया- २ मा पठायो। भोट माग्न नागरिकको घरदैलोमा पुगिरहेकी बिमलाले आफूलाई बर्दिया- २ का मतदाताले आफ्नो प्रतिनिधिका रूपमा चुनेर पठाउने विश्वास व्यक्त गरिन्।

संसदमा बर्दियाको आवाज

बिमलाको राजनीतिक यात्राको जग समानता र सामाजिक न्यायको संकल्पमा उभिएको छ। कम्युनिष्ट पार्टीले सर्वहारा र विपन्न वर्गको प्रतिनिधित्व गर्ने भएकाले आफू यो विचारधारामा आबद्ध भएको उनी बताउँछन्। जातीय र वर्गीय विभेद अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्नु नै आफ्नो राजनीतिक ध्येय रहेको उनको भनाइ छ।

दलित, महिला र श्रमजीवी वर्गको अधिकारका लागि वकालत गर्दै आएकी बिमलाको यस पटकको चुनावी यात्रा पुनः संसद् पुगेर ती विषयलाई नीतिगत रूपमा सम्बोधन गराउनेतर्फ केन्द्रित छ। सामाजिक न्याय र समानताका मुद्दालाई उनले आफ्नो प्रमुख राजनीतिक प्राथमिकताका रूपमा अघि सारेकी छन्।

उनले राष्ट्रिय निकुञ्जसँग जोडिएको बर्दियामा वन्यजन्तुको समस्या समाधान र कृषिको आधुनिकीकरण जस्ता विषयलाई चुनावी मुद्दा बनाएकी छन्। निकुञ्जबाट निस्किएर बाघ, हात्ती जस्ता जनावरले मान्छेलाई आक्रमण गर्ने घटना हुने गरेका छन्। किसानले लगाएका बाली जनावरले खाइदिने समस्या उस्तै छ। 

जनताले भोगिरहेका यस्ता समस्याका विषयमा काम गर्ने उनले सुनाइन्। खुला सिमानाका कारण सहजै पाइने हुँदा युवाहरू लागु औषध दुर्व्यसनीमा समेत फसेकाले यसको नियन्त्रण तथा रोकथाम जस्ता विषयमा पनि काम गर्ने उनले प्रतिबद्धता जनाएकी छन्। पुन संसदमा पुगेर बर्दिया- २ का यस्ता मुद्दा उठाउने र समस्या समाधानका लागि सक्रिय भूमिका खेल्ने बिमलाले प्रतिबद्धता जनाउँदै मतदातासँग मत मागिरहेकी छन्।

कडा चुनावी टक्करको चुनौती

बर्दिया क्षेत्र नम्बर- २ मा नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार खुशीराम थारु, कांग्रेसका किशोर सिंह राठोर, नेपाली कम्युनिष्ट पार्टीका सुरेश पन्थ, उज्यालो नेपाल पार्टीका धर्मबहादुर चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का श्रीधर पोख्रेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुशील चौधरी, माओवादीका टिकाराम चौधरी, जनमत पार्टीका शशि कुमार यादव लगायत १४ उम्मेदवारसँग बिमलाको प्रतिस्पर्धा हुँदैछ।

२०७९ मा प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर- २ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका थिए। स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका उनी नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीका बुवा हुन्। लालवीर १ सय ३६ मतको झिनो मतान्तरले विजयी भएका थिए।

लालवीरले २६ हजार ५२० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत ल्याएका थिए। तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी, कांग्रेस लगायतका दलको गठबन्धनका उम्मेदवार पन्थलाई स्वतन्त्र उम्मेदवार लालवीरले पराजित गरेका थिए। उनै पन्थ पुनः यही क्षेत्रमा चुनावी प्रतिष्पर्धामा छन्।

त्यति बेला एमालेका उम्मेदवार पंकज सिंह राठौरले १६ हजार ९० मत ल्याउँदै तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विनय रावलले १३ हजार २९२ मत ल्याउँदै चौथो भएका थिए। बर्दिया- २ मा दुई स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी परेको थियो।

टीकापुर घटनामा अदालतले दोषी ठहर गरेकाले कारागारमा भएका रेशमको उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनका बुवा लालवीर चौधरीलाई जिताउन नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सहयोग गरेको थियो। रेशमको उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि नाउपाले पहिल्यै लालवीरलाई स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लगाएको थियो। रेसम संयोजक रहेको नाउपाका उम्मेदवार खुशीराम थारु यसपालि चुनावी मैदानमा छैनन्। 

यसपालि बर्दिया-२ को चुनावी प्रतिष्पर्धामा रहेका कांग्रेसका किशोरसिंह राठौर ०७९ मा बाँके- ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यो क्षेत्रका चुनावी मैदानमा उत्रिएका श्रीधर पौडेल २०७९ मा कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका पात्र हुन्। 

उज्यालो नेपाल पार्टीबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका धर्मबहादुर चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कांग्रेस-माओवादी गठबन्धनका मान बहादुर थारुलाई पराजित गरेर बर्दिया-२ (ख)बाट प्रदेश सभा सदस्यमा विजयी भएका व्यक्ति हुन्। प्रदेश मन्त्री समेत बनिसकेका उनी रेशम चौधरीसँग खटपट भएपछि प्रदेश सभा सदस्यबाट समेत राजीनामा दिँदै उज्यालो पार्टीमा प्रवेश गरेर बर्दिया-२ को चुनावी प्रतिस्पर्धा होमिएका छन्। चुनावी प्रतिष्पर्धामा खारिएका यी उम्मेदवारलाई बिमलाले उछिनेर सांसद बन्नु कम चुनौती छैन।

०००

भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।

हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार–प्रसार सुरु भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।

जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरु गरेको हो।

 

माघ २५, २०८२ आइतबार १०:५०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।