चुनाव नजिकिँदै जाँदा महोत्तरीमा आर्थिक गतिविधि बढ्दो

चुनाव नजिकिँदै जाँदा महोत्तरीमा आर्थिक गतिविधि बढ्दो

महोत्तरी : महोत्तरीमा निर्वाचनको चहलपहल बढेसँगै आर्थिक गतिविधि पनि बढ्न थालेको छ। चुनाव नजिकिएसँगै होटल व्यवसाय पनि चलायमान भएको छ। 

चुनावी माहाेलकाबिच राजनीतिक दल र तिनका उम्मेदवारका साथै कार्यकर्ताको बाक्लो उपस्थितिले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने होटल व्यवसायी बताउँछन्। 

‘निर्वाचन चहलपहले हाम्रो व्यस्तता बढेको छ’, बर्दिबासका होटल सञ्चालक तथा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरे भन्छन्, ‘अबको एक महिना हाम्रो व्यवसाय जम्ने ठानेका छौँ ।’

जिल्लाका सबै भेगका बजारमा होटल व्यवसाय राम्रो चलेकाे उनले बताए।

प्रतिनिधिसभा क्षेत्र-१ को बर्दिबासमा १० वटा दलका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै बजारमा चहलपहल ह्वात्तै बढेको बर्दिबासकै अर्का होटल व्यवसायी विमल भण्डारी बत्ताउँछन्।

जिल्लाका चारवटा निर्वाचन क्षेत्रका सबैजसो केन्द्र (निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका ठाउँ) बजार क्षेत्रमै छन्।  क्षेत्र नम्बर-१ को बर्दिबास, २ को बलवा, ३ को जलेश्वर र चारको रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय छ।

अहिले यी ठाउँका सँगै मटिहानी, पिपरा, मनरा, सम्सी, गौशाला, सीतापुर, लोहारपट्टी, औरही, खयरमारा, सरपल्लो, रौजासहितका बजार क्षेत्रका होटल ग्राहकले खचाखच देखिन्छन्। यी  ठाउँमा दल र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताको जमघट बढेसँगै बजारमा चहलपहल बढेको रौजाबजारका सामाजिक कार्यकर्ता मन्सुल कवारी बताउँछन्।  

चुनावी चहलपहलले होटलमात्र नभएर अन्य व्यापार व्यवसाय पनि चलायमान भएको सीतापुरका कपडा व्यापारी सहवुल अन्सारी  बताउँछन्।

‘अहिले चुनावले बजारमा चहलपहल बढेको छ’, सहवुल भन्छन्,‘व्यापारीलाई राहत मिलेको छ।’ 

बजारमा चहलपहल बढेसँगै झण्डा, ब्यानर, पर्चा र पम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेसमा चुनावी प्रयोजनका ग्राहक बढ्दै गएका गौशाला बजारका अजय साहको भनाइ छ।

निर्वाचन हरेक व्यक्ति र घरकाे ‘महापर्व’जस्तै भएकाले आगामी फागुन ३ गतेपछि चुनावी प्रचार औपचारिक रुपमा सुरु भएपछि चहलपहल झन् बढ्ने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए। 

माघ २४, २०८२ शनिबार १६:४४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।