चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

चितवन : चितवनमा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरे पनि अनुमति लिएका हतियार अपेक्षाकृत रुपमा बुझाइएको छैन।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा १४१ जनाले हतियार राख्न अनुमति लिएका छन्।

स्थानीय प्रशासनले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय बनाउन अनुमति लिएर राखिएका हतियार बुझाउन गत माघ ६ गते सूचना प्रकाशित गरेको थियो।

पन्ध्र दिनभित्र हतियार बुझाउन भनिए पनि सो अवधि सकिँदासमेत सम्पूर्ण हतियार फिर्ता गरिएको छैन।

“हतियार राख्ने अनुमति लिएर जिल्ला बाहिर राखिएको पनि हुन सक्छ, अन्य जिल्लामा बुझाइएको तथ्याङ्क आउने क्रम जारी छ”, प्रजिअ अर्यालले भने।

उनका अनुसार बैंकिङ क्षेत्रमा रहेका हतियार बैंकको सुरक्षाका लागि राखिने हुँदा ती हतियार फिर्ता गर्नुपर्दैन।

अन्यको हकमा अनुमति लिएर राखिएका हतियार निर्वाचनको समयमा फिर्ता गरी निर्वाचनपछि पुनः लिन मिल्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

माघ २४, २०८२ शनिबार १३:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।