विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई दियो एक सय ४८ रनको लक्ष्य

विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई दियो एक सय ४८ रनको लक्ष्य

एजेन्सी : आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को पहिलो खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई जितका लागि १४८ रनको मध्यम लक्ष्य दिएको छ।

श्रीलंकाको कोलम्बोस्थित सिंहलीज स्पोर्ट्स क्लब ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रनको योगदान दिए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

अन्य ब्याटरहरूमा बास डी लिडेले २५ बलमा ३० रन र प्रारम्भिक ब्याटर माइकल लेभिटले १५ बलमा २४ रन जोडे। त्यस्तै कोलिन एकरम्यानले २० रन बनाए।

एक समय बलियो स्थितिमा देखिएको नेदरल्याण्ड्सले अन्तिम ५ ओभरमा नाटकीय रूपमा विकेट गुमायो।

अन्तिम ५ ओभरमा मात्र २६ रन जोड्दा टोलीले ६ विकेट गुमाएपछि नेदरल्याण्ड्स ठूलो योगफल बनाउनबाट चुक्यो। टोलीले ५.६ ओभरमा ५० रन र १२.१ ओभरमा १०० रन पुरा गरेको थियो।

पाकिस्तानका लागि सलमान मिर्जाले घातक बलिङ गर्दै ३.५ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। स्पिनर अबरार अहमदले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए भने पार्ट-टाइम बलर साइम अयुबले मात्र १ ओभर बलिङ गर्दै ७ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए।

मोहम्मद नवाजले पनि २ विकेट हात पारे भने तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको नाममा १ विकेट रह्यो। शादाब खानले ४ ओभरमा २६ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्।

अहिले इनिङ्स ब्रेक भएको छ र पाकिस्तानले केही बेरमा १४८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।

 

माघ २४, २०८२ शनिबार १३:०१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।