अरू कलाकार ‘समानुपातिक’को लाइनमा, नीशा एक्लै तीन पूर्वमन्त्रीहरूसँग मैदानमा

अरू कलाकार ‘समानुपातिक’को लाइनमा, नीशा एक्लै तीन पूर्वमन्त्रीहरूसँग मैदानमा

काठमाडौं : काठमाडौंको राजनीति सधैँ अप्रत्याशित र कौतूहलपूर्ण हुन्छ। अझ त्यसमाथि जेनजी आन्दोलनले सिर्जना गरेको तरङ्ग र त्यसको जगमा घोषणा भएको आगामी फागुन २१ को संसदीय निर्वाचनले माहोललाई थप तताएको छ।

भदौको त्यो आन्दोलनमा सडकदेखि सामाजिक सञ्जालसम्म कलाकारहरूको उपस्थिति बाक्लो थियो। उनीहरू सरकार र आक्रोशित युवाबीचको पुल बने, दलका नेताहरूमाथि प्रश्नको वर्षा गरे।

तर, जब आन्दोलनको रापताप सेलाएर मतपत्रको लडाइँ सुरू भयो, धेरैजसो ‘सेलिब्रेटी’ अनुहारहरू सुरक्षित अवतरणको खोजीमा लागे।

यसपटकको निर्वाचनमा पनि कलाकारहरूको आकर्षण कम छैन। तर, त्यो आकर्षण प्रत्यक्ष भिडन्तभन्दा बढी समानुपातिक सूचीको सुरक्षाभित्र सीमित देखियो।

अभिनेत्री रिमा विश्वकर्मा, गायक प्रकाश सपुत, र अभिनेत्री लक्ष्मी बर्देवाजस्ता चर्चित अनुहारहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमार्फत संसद छिर्ने ‘सुरक्षित’ बाटोमा छन्।

रिमा त स्याङ्जा पुगेर आफ्ना सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका बालेन शाहलाई स्थापित गर्ने एजेन्डामा दौडिरहेकी छिन्। तर, यो भीडमा अलग र साहसी निर्णय लिएर उभिएकी छिन्- अभिनेत्री तथा निर्मात्री नीशा अधिकारी।

नीशाले समानुपातिकको सुरक्षित ओत छाडेर काठमाडौं क्षेत्र नम्बर ५ मा प्रत्यक्ष चुनाव लड्ने हिम्मत गरेकी छिन्। यसअघि सगरमाथाको सफल आरोहण गरेर हिम्मत देखाएकी उनले निर्वाचनमार्फत जनतासामु नै जाने अर्को आँट गरिन्। उनी भर्खरै गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट उम्मेदवार छिन्।

‘सेफ जोन’को तोडेर ‘डेन्जर जोन’मा
नेपाली राजनीतिमा कलाकारहरू आउनु नौलो होइन। तर, धेरैजसो कलाकारहरू ठूला दलको छहारी वा समानुपातिकको कोटा रोज्ने गर्छन्। नीशाको हकमा भने कथा फरक छ।

३९ वर्षीया अधिकारीले अरू कलाकार झैँ पार्टीको समानुपातिकमा नाम लेखाइनन्, बरु जनताको घरदैलोमा गएर आफ्नो क्षमता परीक्षण गर्ने निधो गरिन्।

उनको उम्मेदवारी किन पनि अर्थपूर्ण छ भने, उनले रोजेको निर्वाचन क्षेत्र ‘काठमाडौं-५’ सामान्य छैन। यो क्षेत्रलाई ‘हेभीवेट’ नेताहरूको भिडन्त स्थल मानिन्छ। यहाँ उनका प्रतिस्पर्धीहरू कोही सामान्य छैनन्।

एकातिर संगठन बलियो रहेको नेपाली कांग्रेसबाट महामन्त्री तथा पूर्वमन्त्री प्रदीप पौडेल छन्। अर्कोतिर, गत निर्वाचनमा गुमेको साख फर्काउनका लागि एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल छन्।

अझ त्यसमाथि थपिएका छन्- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री कमल थापा।

तीन-तीन जना पूर्वमन्त्री र दशकौंदेखि राजनीतिमा जरा गाडेका नेताहरूसँग एउटी कलाकारले कसरी प्रतिस्पर्धा गर्लिन्?

यो प्रश्न काठमाडौं-५ का चिया पसलदेखि सामाजिक सञ्जालसम्म व्याप्त छ। तर, नीशा भने यो प्रतिस्पर्धालाई संख्या वा शक्तिको होइन, विचार र एजेन्डाको लडाइँ मान्छिन्।

समयभन्दा अगाडि आएको उम्मेदवारी
नीशाका अनुसार ‘गतिशील लोकतान्त्रिक पार्टी’को परिकल्पना आजको भोलि भएको होइन। यसका लागि विगत २/३ वर्षदेखि गृहकार्य भइरहेको थियो।

उनीहरूको खास योजना २०८४ को निर्वाचन थियो। तर, देशको राजनीतिले कोल्टे फेर्यो। जेनजी आन्दोलनको दबाब र त्यसपछि सिर्जना भएको राजनीतिक घटनाक्रमले २०८४ को चुनाव २०८२ सालमै आइपुग्यो।

‘हाम्रो तयारी ८४ को लागि थियो, तर समयले हामीलाई छिटो मैदानमा तान्यो,’ नीशा भन्छिन्, ‘कति कुरामा हाम्रो पुस्ता आवाज उठाउन चुक्यो कि भन्ने लाग्यो। अब प्रश्न मात्र सोध्ने होइन, आफैँ जवाफ बन्ने बेला आएको छ। त्यसैले आँट गरेँ।’

उनको पार्टी नयाँ छ, संगठन विस्तार भइसकेको छैन। पुराना दलहरूजस्तो वडा-वडामा कमिटी छैनन्। तर, उनी यही कमजोरीलाई आफ्नो शक्ति मान्छिन्।

जनता पुराना संगठन र तिनका नेताहरूबाट वाक्क भएको अवस्थामा नयाँ विचार र स्वच्छ छवि नै आफ्नो पुँजी भएको उनको दाबी छ।

पार्टी निर्माणको काम दुई वर्षअघिदेखि नै भइरहेको भए पनि नाम सार्वजनिक भएको दुई महिना मात्र भएको छ। यस्तो छोटो समयमा ‘हेभीवेट’ हरूसँग भिड्नु चानचुने चुनौती होइन।

फिल्मको पर्दामा ग्ल्यामरस भूमिकामा देखिने नीशालाई अहिले काठमाडौंका गल्लीहरूमा भोट माग्दै हिँडेको देख्दा मतदाताहरू पनि छक्क पर्छन्। सुरुवाती दिनमा उनलाई आफूलाई ‘चुनावी पात्र’ का रूपमा ढाल्न समय लाग्यो।

‘सुरूमा अलि गाह्रो भयो, हेक्टिक नै भयो भनौँ,’ उनी आफ्नो अनुभव उकेरासँग सुनाउँछिन्, ‘तर अहिले बानी पर्दै गएको छ। घरदैलोमा जाँदा जनताबाट पाइरहेको प्रतिक्रियाले मलाई धेरै कुरा सिकाएको छ। यो मेरो लागि ज्ञान प्राप्त गर्ने एउटा विश्वविद्यालय जस्तै भएको छ।’

मतदाताले उनलाई चिन्छन्, तर एक अभिनेत्रीका रूपमा। अब उनी त्यो परिचय बदल्न चाहन्छिन्। उनी एक सचेत नागरिक र जनप्रतिनिधिका रूपमा चिनिन चाहन्छिन्। उनको दौडधुप अहिले तीव्र छ। बिहानदेखि साँझसम्म उनी मतदाताका गुनासा सुन्ने, आफ्ना एजेन्डा सुनाउने र विश्वास जित्ने प्रयासमा छिन्।

त्यही अनुसार उनी सामाजिक सञ्जालमा दरदैलोका तस्बिर र भिडियो राखेर लेख्छन्- ‘सुन्ने क्रम जारी छ।’

घोषणापत्र : ठूला गफ कि व्यावहारिक बाचा?
नेपालमा दलका घोषणापत्रहरू सपनाका पुलिन्दा मात्र हुन् भन्ने आम बुझाइ छ।

नीशाले भने आफ्नो घोषणापत्रमा आकाश-पाताल जोड्ने गफहरू समावेश गरेकी छैनन्। उनले सडक, पूर्वाधार, जनस्वास्थ्य, रोजगारी, उद्यमशीलता, खेलकुद र संस्कृतिका विषयलाई प्राथमिकतामा राखेकी छिन्।

विशेषतः महिला सहभागिता र ज्येष्ठ नागरिकको सम्मान उनको प्रमुख एजेन्डा हो। ‘मैले बोलेका कुरा पूरा गर्न सकिनँ भने त्यो इमानदार गम्भीर विषय हुनेछ’, उनी भन्छिन्।

वातावरण संरक्षण र काठमाडौंको धुलो-धुवाँ नियन्त्रण गरी जनस्वास्थ्यमा सुधार ल्याउने विषयमा उनी संसदमा ‘घचघच्याउने’ होइन, नीति नै बनाउने तहमा पुग्न चाहन्छिन्।

काठमाडौं क्षेत्र नम्बर ५ को इतिहास पल्टाउँदा त्यहाँबाट प्रत्यक्ष निर्वाचनमा महिलाले जितेर संसदमा प्रतिनिधित्व गरेको रेकर्ड छैन।

विभिन्न कालखण्डमा महिलाहरू आन्दोलनमा उत्रिए, राणा शासनदेखि पञ्चायत र राजतन्त्रविरुद्ध लडे। तर, जसै सत्ता र शक्तिको बाँडफाँटको कुरा आउँछ, महिलालाई किनारा लगाइन्छ।

‘राणा शासनको विरुद्ध ओर्लिएका वा प्रजातन्त्रका लागि लडेका महिलाहरूको नाम इतिहासमा कमै आउँछ,’ नीशाको गुनासो छ, ’मिडियाले पनि महिला उम्मेदवारलाई हेर्ने दृष्टिकोण फरक बनाउँछन्। विश्लेषणका शब्दहरू नै भिन्न हुन्छन्। यो पितृसत्तात्मक सोचको उपज हो।’

यसपटक क्षेत्र नम्बर ५ मा उनीसहित २५ जना उम्मेदवार भएकोमा जम्मा सात जना मात्र महिला छन्। नीशा यसलाई पनि सकारात्मक सुरुवात मान्छिन्।

‘हामी त उभियौँ नि,’ उनी आशावादी सुनिन्छिन्, ‘यसरी नै अन्य पार्टीले महिलालाई टिकट दिने हो भने त पक्कै पनि संसदमा महिलाको उपस्थिति बलियो हुन्छ। म आफैँले यहाँबाट उम्मेदवारी दिनु नै एउटा उदाहरणीय काम हो जस्तो लाग्छ।’

‘राजनीति पेशा होइन, सेवा हो’
धेरैले राजनीतिलाई ‘कमाइ खाने भाँडो’ बनाएको आरोप लागिरहँदा नीशा भने आफू पेशागत राजनीति गर्न नआएको स्पष्ट पार्छिन्। उनको मूल पेशा कलाकारिता नै हो र भविष्यमा पनि रहिरहनेछ।

‘म राजनीतिलाई पेशा बनाउन आएको होइन,’ उनी भन्छिन्, ‘म जित्छु भनेरै मैदानमा आएको हुँ। तर, कथंकदाचित नतिजा मेरो पक्षमा आएन भने पनि म यसलाई असफलता मान्दिनँ। चुनावी मैदानमा उत्रिनु र यत्रा हस्तीहरूसँग प्रतिस्पर्धा गर्नु नै मेरो लागि सफलता हो।’

चुनाव हारेपछि निराश भएर घर बस्ने वा विदेश पलायन हुने प्रवृत्तिको उनी विरोधी छिन्। यदि संसद छिर्न पाइनन् भने उनी पार्टी संगठन विस्तारमा लाग्ने छिन्।

‘एउटा राम्रो पार्टी बनाउनु छ, जसमा वैचारिक स्पष्टता होस्। भावी पुस्ताले कुन पार्टी रोज्ने भनेर अलमलिनु नपरोस्’, उनको दीर्घकालीन सोच छ।

राजनीतिको यो दौडधुपबीच पनि उनको कलाकार मन मरेको छैन। बरु, राजनीतिले उनलाई फिल्म निर्माणका लागि नयाँ विषयवस्तु दिएको छ।

उनी भन्छिन्, ‘मलाई अझै फिल्महरू बनाउन मन छ। राजनीतिमा लागेपछि त झन् ‘पोलिटिकल डार्क फिल्म’ बनाउने इच्छा जागेको छ।’

माघ २४, २०८२ शनिबार ११:३५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।