विश्वकपको मुखैमा राष्ट्रिय क्रिकेट टिमको जर्सी ‘आउट अफ स्टक’, व्यवस्थापन भन्छ- ‘प्लेयर्स जर्सी अब रिस्टक हुँदैन’

विश्वकपको मुखैमा राष्ट्रिय क्रिकेट टिमको जर्सी ‘आउट अफ स्टक’, व्यवस्थापन भन्छ- ‘प्लेयर्स जर्सी अब रिस्टक हुँदैन’

काठमाडौं : टी-२० विश्वकप सुरु हुन अब केही घण्टा मात्र बाँकी छ। विश्व मञ्चमा नेपालको प्रस्तुति हेर्न आतुर समर्थकहरूमा उत्साहको कमी छैन। तर राष्ट्रिय टोलीले लगाएकै प्लेयर्स जर्सी लगाएर समर्थन गर्ने उनीहरूको चाहना पूरा नहुने भएको छ।

शनिबारदेखि सुरु हुने विश्वकपअघि नै नेपाली बजारमा राष्ट्रिय टोलीको आधिकारिक ‘प्लेयर्स’ र ‘रेप्लिका’ जर्सीको अभाव देखिएको हो। आधिकारिक वितरकको कमजोर व्यवस्थापनका कारण माग अनुसारको आपूर्ति हुन नसक्दा समर्थकहरू निराश बनेका छन्।

काठमाडौंका विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरमार्केटका शाखाहरूमा जर्सी खोज्न पुगेका समर्थकहरूले व्यवस्थापनप्रति असन्तुष्टि पोखेका छन्। क्रिकेट प्रशंसक मोहन गौतमले गत बुधबारदेखि निरन्तर प्रयास गर्दा पनि जर्सी पाउन नसकेको गुनासो गरे।

‘विश्वकपको माहोल तातिएसँगै जर्सी किन्न भनेर गत बुधबार भाटभटेनीको टोखा र बालाजु शाखा पुगेँ, तर पाइएन,’ गौतमले भने, ‘शनिबार (आज) बिहान फेरि बालाजु शाखा पुग्दा स्टक थिएन। अन्त्यमा अनामनगर शाखामा पुग्दा पनि आफ्नो साइजको ‘प्लेयर्स’ जर्सी फेला पार्न सकिनँ।’

अनामनगर शाखामा गौतम मात्र होइन, जर्सी किन्न पुगेका समर्थकको एक समूह नै निराश भएर फर्किएको थियो।

‘आजबाट विश्वकप सुरू हुँदै छ, टिमलाई समर्थन गर्न जर्सी किन्न आएका थियौँ,’ उक्त समूहका एक सदस्य शरद राईले भने, ‘कर्मचारीहरूले स्टक सकिएको र अब विश्वकप नजिकिएकाले ‘रि-स्टक’ (पुनः आपूर्ति) हुन गाह्रो हुने जवाफ दिए। उल्टै कोटेश्वर शाखामा जान सुझाव दिएर फर्काइयो।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी उत्पादन र डिजाइनको जिम्मा ‘टी-१० स्पोर्ट्स’ ले पाएको छ भने यसको आधिकारिक नेपाल वितरणको जिम्मा ‘भाटभटेनी होल्डिङ्स’ ले लिएको छ। कम्पनीले विश्वकपलाई लक्षित गर्दै तीन श्रेणीको जर्सी सार्वजनिक गरेको थियो।

जसमा ३५ सय मूल्य पर्ने खेलाडीले लगाउने ‘हाई क्वालिटी’ फेब्रिकको जर्सी, १६ सय मूल्य पर्ने प्लेयर्स जर्सीको फर्स्ट कपी ‘रेप्लिका जर्सी’ र कम मूल्यमा जर्सी लगाउन चाहनेहरूका लागि ८ सय मूल्यको फ्यान जर्सी छ। बजारमा हाल फ्यान जर्सी पाइए पनि धेरैजसो समर्थकको रोजाइमा पर्ने ‘प्लेयर्स’ र ‘रेप्लिका’ जर्सीको भने अभाव छ।

जर्सी अभावबारे वितरक भाटभटेनी होल्डिङ्सको दाबी र बजारको अवस्थाबीच विरोधाभास देखिएको छ। भाटभटेनीका प्रबन्ध निर्देशक आलोकजंग जोशीले ‘प्लेयर्स’ जर्सीको स्टक लगभग सकिएको स्वीकार गरे।

‘प्लेयर्स जर्सीको हकमा हामीसँग भएको स्टक सकिन लागेकै हो। भएका पनि धेरै सानो र धेरै ठूलो साइजका जर्सीहरू मात्र बाँकी रहेको गुनासो आएको छ,’ जोशीले भने, ‘विश्वकपकै लागि भनेर अब प्लेयर्स जर्सी चैँ रि-स्टक नहुने सम्भावना छ।’

यद्यपि, उनले १६ सय पर्ने ‘रेप्लिका’ र ८ सय पर्ने ‘फ्यान’ जर्सीको अभाव हुन नदिने दाबी गरे। ‘सकिएको ठाउँमा हामी छिट्टै रेप्लिका र फ्यान जर्सी पठाउँछौँ,’ उनले भने।

माघ २४, २०८२ शनिबार १०:३०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।