भारतलाई छैटौँ पटक यू-१९ विश्वकप उपाधि, १४ वर्षीय वैभवको कीर्तिमानी १७५ रन

भारतलाई छैटौँ पटक यू-१९ विश्वकप उपाधि, १४ वर्षीय वैभवको कीर्तिमानी १७५ रन

एजेन्सी : भारतले एकतर्फी खेल प्रदर्शन गर्दै इंग्ल्यान्डलाई हराएर छैटौं पटक आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको उपाधि जितेको छ।

जिम्बाब्वेको हरारेमा शुक्रबार भएको फाइनल खेलमा भारतले सानदार जित हासिल गर्दै दुई वर्षअघि अष्ट्रेलियासँग फाइनलमा ब्यहोरेको हारको बदला समेत लिएको छ।

भारतको जितमा १४ वर्षीय युवा ओपनर वैभव सूर्यवंशी नायक सावित भए।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतका लागि वैभवले विस्फोटक ब्याटिङ गर्दै मात्र ८० बलमा १७५ रन बनाए। उनले इंग्ल्यान्डका बलरहरूलाई निरीह बनाउँदै मैदानको चारैतिर छक्का र चौकाको वर्षा गरे।

वैभवले कप्तान आयुष म्हात्रेसँग मिलेर १५ ओभरमा १४२ रनको साझेदारी गरे। ५५ बलमा शतक पूरा गरेका उनले त्यसपछि झनै आक्रामक ब्याटिङ गर्दै १५० रन कटाउन थप १६ बल मात्र लगाए।

वैभवको आउट हुँदा भारत २६ औँ ओभरमा २५१ रनको स्थितिमा थियो।

तल्लो क्रमका ब्याटरहरू अभिज्ञान कुण्डु र कनिष्क चौहानले छोटो तर आक्रामक पारी खेलेपछि भारतले निर्धारित ओभरमा ४०० रनको आँकडा पार गर्यो। पूर्ण सदस्य राष्ट्रहरूबीचको यू-१९ एकदिवसीय खेलमा ४०० रन नाघेको यो पहिलो पटक हो।

विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि कालेब फाल्कनरले उत्कृष्ट ब्याटिङ गरे। उनले मात्र ६३ बलमा शतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन।

बेन मेस र कप्तान थोमस रेवले केही राम्रो सुरुवात गरे पनि भारतीय बलरसामु इंग्ल्यान्डको ब्याटिङ लामो समय टिक्न सकेन।

इंग्ल्यान्डले आक्रामक ब्याटिङ गरे पनि विकेट निरन्तर गुमाउँदा लक्ष्यभन्दा १०० रन टाढै रहँदा अलआउट हुन पुग्यो र भारतले विश्वकपको ट्रफी उचाल्यो।

माघ २४, २०८२ शनिबार ०७:५७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।