१०औं टी-२० विश्वकप क्रिकेट आजदेखि : मुम्बई र कोलम्बोमा भव्य उद्घाटन समारोह हुँदै

१०औं टी-२० विश्वकप क्रिकेट आजदेखि : मुम्बई र कोलम्बोमा भव्य उद्घाटन समारोह हुँदै

काठमाडौं : भारत र श्रीलंकाको संयुक्त आयोजनामा १०औँ संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता शनिबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन समारोह मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछ। भारतीय समय अनुसार साँझ ६ बजे सुरु हुने समारोहमा बलिउड तथा सांगीतिक क्षेत्रका हस्तीहरूले प्रस्तुति दिनेछन्।

समारोहमा गायक ऋषभ शर्मा र शिवमणीले सांगीतिक माहोल तताउनेछन् भने र्यापर बादशाह र अभिनेत्री नोरा फतेहीले विशेष प्रस्तुति दिने कार्यक्रम छ।

समारोहको मुख्य आकर्षणका रूपमा ‘जेटप्याक’ प्रयोग गरेर आकाशबाट स्टेडियममा विश्वकप ट्रफी ल्याइनेछ। उक्त ट्रफीलाई आईसीसी अध्यक्ष जय शाह र भारतीय टोलीका पूर्व कप्तान रोहित शर्माले स्वागत गर्नेछन्। साथै, प्रतियोगितामा सहभागी २० राष्ट्रका युवा प्रतिनिधिहरूले पनि समारोहमा सहभागिता जनाउनेछन्।

विश्वकपको पहिलो दिन आज तीनवटा खेलहरू हुँदैछन्। पहिलो खेल पाकिस्तान विरूद्ध नेदरल्याण्ड्स श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा भिड्दैछ। यो खेलसँगै प्रतियोगिताको म्याचहरू औपचारिक रूपमा सुरु हुनेछन्।

यस्तै दोस्रो खेलमा भारतको कोलकातास्थित इडेन गार्डेन्स स्टेडियममा वेस्ट इन्डिज विरूद्ध स्कटल्याण्ड भिड्दा तेस्रो खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भारतविरुद्ध अमेरिका हुनेछ।

साविक विजेता भारतले घरेलु मैदानमा अमेरिकाविरूद्ध खेल्दै आफ्नो उपाधि रक्षा अभियान र ऐतिहासिक तेस्रो उपाधिको खोजी सुरु गर्नेछ।

यसपटकको विश्वकपमा राजनीतिक तनावको प्रभाव पनि देखिएको छ। पूर्ण सदस्य राष्ट्र बङ्गलादेशले भारतीय भूमिमा खेल्न अस्वीकार गरेपछि उनीहरू प्रतियोगिताबाट बाहिरिएका छन्।

यसको सट्टा आईसीसीले स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरेको छ। आईपीएलमा बङ्गलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई हटाइएपछि चिसिएको भारत–बङ्गलादेश सम्बन्धको असर विश्वकपमा देखिएको हो।

खेल तालिका र फर्म्याट
मार्च ८ सम्म चल्ने प्रतियोगितामा कुल २० राष्ट्रले ५५ खेल खेल्नेछन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर आठ’ मा प्रवेश गर्नेछन्। सुपर आठमा दुई समूह (चार–चार टोली) रहनेछन् र त्यहाँबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

खेलहरू भारतका पाँच शहर (मुम्बई, कोलकाता, चेन्नई, दिल्ली, अहमदाबाद) र श्रीलंकाका तीन मैदान (कोलम्बोका दुई र पल्लेकेले) गरी कुल ८ मैदानमा हुनेछन्। फाइनल खेल मार्च ८ मा अहमदाबाद वा कोलम्बोमा हुनेछ।

माघ २४, २०८२ शनिबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।