आचारसंहिता उल्लंघनमा १० उजुरीमा जवाफ दिन अटेर
काठमाडौं : निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये १० वटा उजुरीमा सम्बन्धित पक्षले अझै जवाफ दिएका छैनन्।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ३४ वटा उजुरी प्राप्त भएकोमा आयोगले सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको थियो। आयोगका अनुसार तीमध्ये हालसम्म २४ वटाको मात्र जवाफ प्राप्त भएको छ भने बाँकी १० वटाको जवाफ आउन बाँकी छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ। निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू क्रियाशील रहेको उनले बताए।
जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।
छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य भइरहेको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। उक्त बन्दसूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा तीन हजार १३५ उम्मेदवार कायम भएका छन्। जसमा एक हजार ७७२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेको आयोगले जनाएको छ।
माघ २३, २०८२ शुक्रबार २०:५३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।