प्रचण्डको दाबी : 'विचार र एजेन्डाका दृष्टिले हामी नै नयाँ शक्ति हौं'
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र एजेन्डाका दृष्टिकोणले आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ शक्ति भएको दाबी गरे।
शुक्रबार काठमाडौंमा पार्टीको मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले गणतन्त्र र संघीयताको बाहक भएकाले नेपाली कम्युनिष्ट पार्टी नयाँ भएको तर्क गरे।
पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेका नयाँ भनिएका शक्तिहरूप्रति संकेत गर्दै उनले भने, "आजभोलि सोसल मिडियामा नयाँ भनेर निकै होहल्ला गरिएको छ। नेपालमा हामीभन्दा नयाँ कोही छैन। किनकि नेपाली कम्युनिष्ट पार्टी गणतन्त्र र संघीयताको बाहक भएकाले सबैभन्दा नयाँ हो।"
एमाले परित्याग गरी आएका नेताहरूलाई स्वागत गर्दै प्रचण्डले गहिरो आत्मसमीक्षा र संकल्पका साथ पार्टी निर्माण गरिएको दाबी गरे। उनले देशको असाधारण राजनीतिक परिस्थितिमा सबै वामपन्थी र समाजवादी शक्तिलाई एकताबद्ध गर्दै राष्ट्रिय शक्ति निर्माण गर्नु पार्टीको मुख्य उद्देश्य रहेको स्पष्ट पारे।
एमालेबाट समायोजन भएका नेताहरूले राखेको धारणामाथि टिप्पणी गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रतिको आलोचनामा केही आग्रह र पूर्वाग्रह देखिएको बताए। "समायोजन भएर आउनुभएका नेताहरूले केपी ओली के हो ? देशलाई कहाँ लैजान खोज्दै छन् भन्ने विषयमा धारणा राख्नुभयो। त्यसमा केही आग्रह र पूर्वाग्रह देखिएको छ," उनले भने।
ओलीसँगको सम्बन्धका विषयमा प्रचण्डले आफूले सधैँ 'स्वर्ग र नर्क'को प्रसंग उठाउने गरेको समेत स्मरण गराए। उनले आफ्नो पार्टीले मात्र मुलुकको परिवर्तनलाई सही दिशामा लैजाने दाबी गरे।
माघ २३, २०८२ शुक्रबार १८:५८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।