केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शुक्रवार बसेको बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने निर्णय समेत गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने लगायतका निर्णय समेत गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृह र रक्षा मन्त्रालयका सचिवसहित चार वटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधि सहभागी थिए। केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायहरूले गरिरहेका काम, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरेको  प्रवक्ता काफ्लेले बताए।

माघ २३, २०८२ शुक्रबार १८:५२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।