चुनावमा रकम तोकेर चन्दा लिए कार्वाही, स्वैच्छिक सहयोग भने लिन सकिने
काठमाडौं : निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलले चन्दा लिए कार्वाही हुने बताएको छ। शुक्रवार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले शुभेच्छुकबाट स्वैच्छिक सहयोग लिन पाउने तर रकम तोकेर चन्दा लिन नपाउने बताए।
प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचार-प्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने भन्दै उनले उम्मेदवार वा दलले कसैलाई निश्चित रकम तोकेर चन्दा माग्न भने नपाउने भट्टराइले बताए।
उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको र खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने समेत बताए। निर्वाचन प्रचार प्रसारका लागि छुट्टै खाता खोलिएको कारण त्यसमा कसैले दिएको सहयोग दुरुपयोग हुँदैन भन्ने विश्वास गर्नुपर्ने उनले बताए।
पत्रकार सम्मेलनमा उनले निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्यलाई तीव्रता दिएको र हालसम्म ८४ लाख ४० हजार मतपत्र छापी सकेको भट्टराईले जानकारी दिए।
छापिएका मतपत्रमध्ये सात हजार १३७ वटा बाकसहरू प्याकिङ भइसकेको र हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाई र प्याकिङको काम सक्किएको उनले जानकारी दिए।
माघ २३, २०८२ शुक्रबार १८:३९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।