रौतहट दुर्घटना : पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिने रास्वपाको घोषणा

रौतहट दुर्घटना : पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिने रास्वपाको घोषणा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी अभियानका क्रममा भएको सवारी दुर्घटनामा मृत्यु भएकी ४ वर्षीया बालिकाको परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। 

रास्वपाद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि आवश्यक पहल भइरहेको छ।  रौतहट क्षेत्र नम्बर २ मा चुनावी प्रचारका क्रममा रहेको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएपछि रास्वपाले राहत र न्यायलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका- ४ स्थित मठियाटोलमा रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा गुडिरहेको बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा स्थानीय मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको थियो।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं।" 

रास्वपाले घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ। कानुनी प्रक्रियामार्फत पीडित परिवारलाई न्याय दिलाउने विषयमा पार्टीले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेको छ। बालिकाको असामयिक निधनप्रति स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाएको छ।

चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई सर्वोच्च प्राथमिकता दिन पार्टीले आफ्ना उम्मेदवार, कार्यकर्ता र सवारी चालकहरूलाई कडा निर्देशन जारी गरेको छ।

माघ २३, २०८२ शुक्रबार १५:१६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।