झापाको भद्रपुरमा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
बिर्तामोड : झापाको भद्रपुर नगरपालिका-१०, सत्रविघेमा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भएको आक्रमणमा परी सोही ठाउँका खेम ढकालको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कने क्रममा आक्रमणमा परेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिए।
सिरिन्जमा कुन पदार्थ प्रयोग गरिएको थियो भन्नेबारे भने हालसम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
माघ २३, २०८२ शुक्रबार ०९:४१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।