भारत-पाकिस्तान क्रिकेट अहिले हैन, ११ वर्षअघि मुम्बईमै पतन भइसकेको थियो : नजम सेठी
एजेन्सी : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का पूर्व अध्यक्ष नजम सेठीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र पाकिस्तानबीचको वर्तमान विवाद तत्काल समाधान हुने सम्भावना नरहेको बताएका छन्।
खलीज टाइम्ससँगको विशेष कुराकानीमा सेठीले फेब्रुअरी १५ मा हुने भारत र पाकिस्तानबीचको हाई-प्रोफाइल टी-२० विश्वकप खेलमा पाकिस्तानले लिएको बहिष्कारको निर्णयलाई समर्थन गर्दै आईसीसीको भूमिकाप्रति कडा आलोचना गरेका छन्।
सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न अस्वीकार गरेपछि बंगलादेशलाई विश्वकपबाट हटाइएको थियो। यसको विरोध स्वरूप पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय गरेको छ।
सेठीले भने, ‘प्रधानमन्त्री शहबाज सरिफको भनाइ र पीसीबी अध्यक्ष मोहसिन नक्वीको अडान एउटै छ- बंगलादेशमाथि अन्याय भयो। सन् २०२५ को च्याम्पियन्स ट्रफीमा भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान आउन अस्वीकार गर्दा दुबईमा खेल सार्न मिल्ने, तर बंगलादेशका लागि श्रीलंकामा खेल सार्न नमिल्ने? यो दोहोरो मापदण्ड हो।’
७७ वर्षीय भेट्रान क्रिकेट प्रशासक सेठीले आईसीसी पूर्ण रूपमा पैसा र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नियन्त्रणमा रहेको आरोप लगाए।
‘मैले पाँच वर्ष आईसीसी बोर्ड बैठकमा बिताएको छु। सिद्धान्त र स्वतन्त्रता पैसाको अगाडि टिक्दैनन्। साना देशहरू अस्तित्वका लागि संघर्ष गर्छन् भने बिग थ्री (भारत, अष्ट्रेलिया र इंग्ल्याण्ड) ले सबै लान्छन्,’ सेठीले भने, ‘आईसीसीका निर्णयहरू प्रायः राजनीतिक हुन्छन् र पर्दा पछाडिबाट बीसीसीआईले नै अन्तर्राष्ट्रिय क्रिकेट चलाइरहेको हुन्छ।’
सेठीले कुराकानीको क्रममा सन् २०१५ को एउटा तीतो घटना पनि स्मरण गरे। द्विपक्षीय सिरिजका लागि बीसीसीआईका तत्कालीन अध्यक्ष एन. श्रीनिवासनको निमन्त्रणामा उनी मुम्बई गएका थिए।
‘हामीलाई मुम्बई बोलाइयो, तर होटलमा घण्टौ कुराएपछि अचानक बैठक रद्द भएको जानकारी दिइयो। पुलिस लगाएर हामीलाई एयरपोर्ट फर्काइयो,’ उनले भने, ‘स्वदेश फर्किंदा हामीले अपमानित महसुस गरेका थियौं। भारत-पाकिस्तान क्रिकेट त्यही दिन पतन भइसकेको थियो।’
सेठीका अनुसार अहिले आईसीसी र पाकिस्तानबीच पर्दा पछाडि केही अनौपचारिक कुराकानी भइरहेको हुन सक्छ। तर, समाधान सहज छैन।
‘यदि पाकिस्तान नकआउट चरणमा पुग्यो र सेमिफाइनल वा फाइनलमा भारतसँग खेल्नुपर्ने अवस्था आयो भने के गर्ने भन्नेबारे अझै स्पष्टता छैन। सायद त्यसबेला पनि पाकिस्तानले अहिलेकै अडान दोहोर्याउन सक्छ’, उनले विश्लेषण गरे।
सेठीले क्रिकेट ओलम्पिक (२०२८) मा समावेश हुन लागेको संवेदनशील समयमा आईसीसीले देखाएको यो राजनीतिक रवैया खेलको भविष्यका लागि घातक हुन सक्ने चेतावनीसमेत दिएका छन्।
माघ २३, २०८२ शुक्रबार ०९:३५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।