भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दुई दाजुभाइसहित १८ जनाको मृत्यु
काठमाडौं : भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा परी खोटाङका दुई दाजुभाइसहित १८ जनाको मृत्यु भएको छ।
मेघालयको उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा खोटाङको बराहपोखरी गाउँपालिकाका दुई युवाको घटनास्थलमै ज्यान गएको हो।
मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका-१, सालघारीभञ्ज्याङ निवासी एउटै घरका दाजुभाइ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर रहेका छन्।
सोही घटनामा परी अन्य चार जना नेपाली घाइते भएका छन्। घाइते हुनेहरूमा बराहपोखरीकै बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुरको साउनेका ललितबहादुर मगर रहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अवैध रूपमा सञ्चालित उक्त खानीमा भएको विस्फोटमा ज्यान गुमाउनेको कुल संख्या १८ पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २-२ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
माघ २३, २०८२ शुक्रबार ०७:५८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।