शक्तिकुमारको हिजोका कुरा : जागिर छाडेर रेडियो नेपालको चक्कर, गीत माग्दा रित्तो हात लागेपछि जन्मियो ‘पर्खन साइँली’

शक्तिकुमारको हिजोका कुरा : जागिर छाडेर रेडियो नेपालको चक्कर, गीत माग्दा रित्तो हात लागेपछि जन्मियो ‘पर्खन साइँली’

काठमाडौं : नेपाली श्रोताहरूमा बसेको गीत हो, ‘पूर्वै जाने रेल, हाँसेर बोलन कान्छी दुई दिन बाँचुन्जेल।’ यो गीतका गायकमध्येका एक हुन्, शक्तिकुमार श्रेष्ठ।

ओखलढुङ्गाको रुम्जाटारमा जन्मिएका उनी घरका चार दाजुभाइ जेठा छोरा हुन्। सामान्य परिवारमा जन्मिएका श्रेष्ठले गाउँकै स्कुलबाट एसएलसी पास गरे।

जागिरको सिलसिलामा उनी काठमाडौं आए। त्यो बेलामा गाउँमा गाडी पुगेको थिएन, तर प्लेनको सुविधा थियो। उनी ७५ रुपैयाँको प्लेन टिकट काटेर काठमाडौं आए। काठमाडौंबाट फेरि सरुवा भएर जानुपर्ने भएपछि उनले राजीनामा दिएर आफ्नो सपना पुरा गर्ने मार्ग पन्छ्याए।

रेडियो नेपालमा ४२ सालमा भ्वाईस टेष्ट पास गरे, तर गीत गाउन उनलाई कसैले शब्द दिएनन्। रेडियो नेपालमा गीत गाउने सपना टर्न थाल्यो, तर हिम्मत हारेनन्। अन्तमा आफैले गाउँको 'सेरोफेरो'लाई सम्झेर लोक गीत लेखे, ‘पर्खन साइँलीसँगै जाऊँ, डोको नाम्लो लिएर आऊ।’

साथीभाइलाई सुनाए, सबैले गीत मन पराए। रेडियो नेपालबाट पास पनि भयो। अनि रेकर्ड भयो उनको पहिलो गीत। माउथ बाजा बजाउँदै रेडियो नेपाल छिरेका शक्तिले आफ्नै शब्द, लय र स्वरमा रेकर्ड गरेको यो गीत उनलाई श्रोतामाझ चिनाउने पहिलो खुट्किलो बन्यो।

त्यसपछि उनले ‘फूल फुल्यो सगरमाथा अञ्चल’ बोलको गीत गाए, जुन उनको सांगीतिक करियरको ‘टर्निङ प्वाइन्ट’ बन्यो। ओखलढुङ्गादेखि रेडियो नेपालसम्मको आफ्नो यही यात्रा, सङ्घर्ष र अनुभवका विविध पाटाहरू उनले ‘उकेरा’को ‘हिजोको कुराकानी’ स्तम्भमा यसरी सुनाए : 

स्कुले जीवनमै नाचगानमा रस

म २०२४ सालमा ओखलढुङ्गाको रुम्जाटारमा जन्मेको हुँ। मेरो गाउँलाई रुम्जाटार गाउँ पञ्चायत भन्थेँ। मेरो बाल्यकाल त्यही बित्यो। त्यो समयमा घाँस दाउरा गरेर स्कुलमा पढे। चार दाजुभाइमध्ये म जेठो हुँ। मैले गाउँकै रुम्जाटार हाई स्कुलमा पढेको हुँ। म जन्मेको समयमा यो स्कुल 'प्राइमरी' थियो, पछि मैले पढ्दै जाँदा कक्षा थपिएर हाई स्कुल बन्यो।

मैले २०३८ सालमा एसएलसी पास गरेपछि काठमाडौं प्रवेश गरे। स्कुलबाट म जिल्ला स्तरीय गायन प्रतियोगितामा समेत भाग लिन्थेँ। मैले सानैबाट माउथ बाजा (मुखले बजाउने बाजा) बजाउने गर्थे। गाउँमा मुखले बजाउने बाजालाई बच्छे बाजा पनि भन्छन्।

एसएसली सकेपछि एउटा प्रोजेक्टमा जागिर गरे। जागिरकै सिलसिलामा मलाई काठमाडौं बोलाइयो। अनि रुम्जाटारबाट नै प्लेन चढेर काठमाडौं आए।

७५ रुपैयाँ प्लेन भाँडा 

त्यतिखेर काठमाडौं हिँडेर आउन धेरै दिन लाग्थ्यो। कटारीबाट गाडी चल्थ्यो। हाम्रो गाउँ रुम्जाटारमा 'पिलाटस पोर्टर' भन्ने सानो प्लेन चल्थ्यो। त्यसमा सात जना अटिन्थ्यो। अहिले त टुइनेटर जान्छ।

मैले त्यो बेलामा स्टुडेन्टको कन्सेसन गरेर ७५ रुपैयाँमा प्लेनको टिकट काटेको हुँ। फुल भाडा १५० रुपैयाँ थियो जस्तो लाग्छ। आधा घण्टा ४५ मिनेटमा काठमाडौंमा अवतरण हुन्थ्यो। प्लेनमा बसेर जमिनको खोलानाला हेर्दाहेर्दै काठमाडौं अवतरण गरियो। त्यसअघि धरान बस्दा पनि म विराटनगर प्लेनमै जान्थेँ। ट्वीनेटरमा चढेर लामिडाँडामा ओर्लिएको थिए। त्यहाँबाट हाम्रो गाउँ आउन एक दिन हिँड्नु पर्थ्यो। अहिलेको जस्तो गाडी बाटो थिएनन्।

म पहिलो पटक प्लेनमा चढ्दा मेरो साथी सँगै थियो। युवा जोस जाँगर भएर होला, प्लेन चढ्न पाए हुन्थ्यो। प्लेन पनि दुर्घटना हुन्छ, मरिन्छ भन्ने कुनै थाहा थिएन। सानो प्लेन भएर हो की! त्यति बेला धेरै उचाइमा लैजाँदैन थियो। डाँडामा ठोक्काउँछ कि झैँ लाग्थ्यो। डाँडा आउँदा अलिक हाइटमा लैजान्थ्यो र फेरि तल झार्थ्यो। प्लेनेबाट जमिनको घर, बनपाखा, खोलानालाको मजा लिँदालिँदै अवतरण गर्थ्यो।

प्रोजेक्टको जागिरका सिलसिलामा काठमाडौं आएता पनि मलाई गीत गाउने रहर थियो। मेरो मन जागिरभन्दा रेडियो नेपालमा थियो।

रेडियो नेपालको खोजी

४० साल अगाडिको कुरा हो, काठमाडौंमा केही समय जागिर गरेपछि मलाई दाङ, प्युठान जा भन्न थाले। मलाई आफ्नो गीत रेकर्ड गर्न मन थियो। मेरो मनमा जागिर छोडेर रेडियो नेपालमा गीत गाउने सोच आयो। अनि जागिर छोडे पनि।

पहिलो पटक म रेडियो नेपालमा जाँदा मेरो साथी केशरबहादुर गुरुङले सिंहदरबार देखाइदिनु भयो। उहाँले हातले देखाउँदै भन्नुभएको थियो, "उ त्यहाँ तल छ जा। तल देब्रे साइडमा ठुलो गेट आउँछ, आर्मी पनि बसेको हुन्छ। त्यहीँ सिंहदरबार भित्र रेडियो नेपाल छ।"

उहाँले भनेअनुसार नै गए। बाहिर गेटको आर्मीले मलाई सिंहदरबार जानबाट रोकेन। यो ३८ साल चैततिरको कुरा हो। गेटभित्र पसेपछि रेडियो नेपालको बोर्ड देखे। त्यो गेटमा पनि आर्मी रहेछ। त्यहाँबाट चाहिँ मलाई रेडियो नेपालमा छिर्न दिइएन।

कहाँ हिँडेको भनेर सोध्यो, मैले म बाजा बजाउँछु, संगीत शाखामा नातिकाजीलाई भेट्न आएको हुँ भने। अनि एउटा कार्यालय सहयोगी रहेछ, उहाँलाई सबैले विष्णु दाइ भन्थे। उहाँले नै नातिकाजीको कोठामा लगिदिनुभयो। त्यहाँ जाँदा शिव शंकर, तारादेवी, कोइलीदेवी, नाति दाइ लगायत हुनुहुन्थ्यो। उहाँहरू गफ गरिरहनु भएको थियो।

उहाँले मेरोबारेमा भनिदिनुभयो। अनि नाति दाइले सोध्नुभयो, भाइ कहाँबाट आउनु भएको हो ? मैले रुम्जाटारबाट आएको हुँ भने। उहाँले के बजाउँछौं भनेर सोध्नुभयो। मैले माउथ बाजा (बच्छे) बजाउँछु भनेर सुनाए। उहाँले बाजा बजाएर सुनाउन भन्नुभयो। एकै पटक बजाउन भनेपछि कुन गीतको धुन बजाउने भनेर म अलमलमा परे।

अनि मैले ‘नेपाली तिम्रो नेपालमा, माया र प्रीति बसाल राजा सबका साझा हो, मिलेर सबेले उचाल’ बोलको गीतमा बजाए। जुन गीतमा 'राजा सबका साझा हुन्' भन्ने थियो। पञ्चायत व्यवस्था भएकाले राजाको अलिक गुणगान चल्थ्यो। धुन सुनेपछि शिवशंकरले भन्नुभयो, 'भाइ गीतको धुन त मिठो बजाउँदो रहेछौं। यो राष्ट्रिय गीत भयो। अरू कुनै लोकगीतको बजाउन।'

अनि मैले ‘पानी खाने घरमुनि पँधेरो, तिमी बिना जीवनै अँधेरो, समय छोटो छ, तिमीले दिएको एउटा फोटो छ’ बोलको गीतमा धुन बजाए। धुन सुनेपछि सबैले प्रशंसा गर्नुभयो। त्यो गीत राम थापाले गाउनु भएको रहेछ।

तिनै विष्णु दाइलाई शिवशंकरले मलाई राम थापासँग भेटाई देऊ भन्नुभयो। उहाँको स्टुडियोमा नै राम थापासँग भेटाइदिनु भयो। राम थापाले पनि मेरो धुन सुन्नुभयो। अनि उहाँले भन्नुभयो, ‘आज म्युजिसिनय छैन, भोली आउनु। भोली तपाईंको धुन रेकर्ड गर्दिन्छु।’

म भोली पल्ट रेडियो नेपाल गए। सबै म्युजिसियनहरु भेला भइसकेका थिए। त्यसमा म पनि परे। गीत रेकर्ड भयो। अनि भन्नुभयो- 'गीत ३-४ दिनपछि रेडियो नेपालमा बज्छ। आउँदै गर्नु, अरू गीतहरूमा पनि बाजा बजाउनुपर्छ।' नभन्दै बज्यो पनि।

पछि मैले अरुअरु गीतमा पनि धुन बजाउन थाले। मेरो माग उच्च भयो। मैले थुप्रै गीतमा बाजा बजाउने मौका पाए। त्यति बेला म्युजिसियनलाई २० रुपैयाँ रेडियो नेपालले पारिश्रमिक दिन्थ्यो। तर मलाई सुरुकै गीतमा ४० रुपैयाँ दिएको थियो। फ्रीमा त काम लगाउँदैन थिए। मैले धुन पनि बजाएको हुनाले ४० रुपैयाँ दिएको थियो।

अनि धेरै जसो मलाई शम्भुजित बास्कोटाले गीतमा धुन भर्न बोलाउनुहुन्थ्यो। उहाँका गीतमा मैले धेरै काम गरेको छु। निजी गीत रेकर्डिङमा मलाई लैजानु हुन्थ्यो र ५० रुपैयाँ पारिश्रमिक दिनुहुन्थ्यो। त्यति बेलाको ५० रुपैयाँ धेरै हो। त्यसपछि मैले संगीत पनि गर्न थाले। रेडियो नेपालमा मेरा थुप्रै संगीतका गीतहरू छन्। त्यति बेलामा नाम चलेको गायक गायिकाहरू नै गाएका छन्। इण्डियन गायिका लेखा पालिखले पनि ‘सम्झना रुन्छ मन’ बोलको गीत गाउनु भयो।

संगीत भर्दाभर्दै गायनमा

मैले धुन भर्ने, संगीत गर्ने काम गरिरहेको थिए। सोहीक्रममा मैले ४२ सालमा रेडियो नेपालबाट भ्वाइस टेष्ट पास गरे। भ्वाइस टेष्ट पास गरेता पनि रेडियो नेपालमा गीत गाउन दिँदैन थिए। गीत पाउनै मुस्किल पर्थ्यो। नयाँ नयाँले त झन्, गीत पाउँदैन थिए। भ्वाइस टेष्ट पास त गरियो, गीत गाउनलाई शब्द छैन।

किनभने शब्द जसको पास भइसकेको हुन्छ, उक्त गीत गायक गायिकाहरूले हारालुछ गरेर लगिहाल्ने। एक महिनापछि गीत गाउने पालो छ भने महिना दिन अघिबाट संगीकार लिएर आफ्नो गीत कम्पोज गर्ने रहेछन्। त्यो त मलाई थाहै भएन। अब गीत गाउनलाई शब्द भएन। कतिसँग गीत मागे, कसैले पनि दिएनन्। नयाँ भएर होला कसैले पत्याएनन्।

कसैले गीत नदिएपछि होइन, अब आफै नै गीतका शब्द बनाउँछु। लोकगीत गाउँछु भन्ने सोचे। फेरि बोर्डबाट गीतका शब्दहरू पास गर्नुपर्थ्यो। बोर्डबाट पास भएर मात्र हुँदैन थियो, स्टुडियोमा पनि सुनाउनु पर्थ्यो। अर्को भाकासँग मिल्यो भने हुँदैन थियो। अनि आफू लेखेको शब्द पास होला कि नहोला भन्ने अर्को तिर मनमा डर। अनि आफ्नो गाउँघरलाई हेरेर शब्द कोरे ‘पर्खन साइँली सँगै जाऊँ, डोको नाम्लो लिएर आऊ।'

यो गीतको शब्द कोरेर ‘माछी मार न हो’ गीत लेख्ने नवीन गुरुङ दाइलाई सुनाए। उहाँ पश्चिमेली भए पनि पूर्वेली गीत सुनाउँदा मन पराउनु भयो। उहाँले राम्रो छ, पास हुन्छ भन्नुभयो। नभन्दै पास पनि भयो गाए। २ पटकमा गीत ओके भयो। गीत रेकर्ड भयो। चल्यो पनि।

त्यसपछि मैले ‘फूल फुल्यो सगरमाथा अञ्चलमा, लाऊ नै माया सारा संसारमा’भन्ने रेकर्ड गरे। यो गीतले झनै लोकप्रियता कमायो। यही गीतले मलाई शक्तिबहादुर श्रेष्ठ भनेर चिनायो। यो ४३ सालको कुरा हो।

त्यसपछि मैले भूपाल राई अहिलेका उपकुलपतिले लेखेको गीत ‘पूर्वै जाने रेल, हाँसेर बोलन कान्छी दुई दिन बाँचुन्जेल’ गाइयो। यसमा भूपालको पनि स्वर छ। यो ४६ सालतिर रेकर्डिङ भएको हो। त्यसपछि मैले गायनमा पछाडि फर्केर हेर्नु परेन।

त्यसपछि ‘कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ।' यो गीत पनि त्यो ताका खुबै चल्यो। ‘कान्छीलाई लैजाउन घुमाउन लैलै बिहीबारे हाटैमा’, ‘मैना चरिलाई’लगायत गीत गाए। अहिले यो मैना चरिलाई बोलको गीतमा भजन गाइरहेको सुन्छु। खुसी लाग्छ। अहिले पनि गायनमा सक्रिय नै छु।

नृत्यमा नाचघरमा

पहिला नाच सिक्नका लागि कोचहरू हुँदैन थिए। मलाई बाल्यकालबाट नै नाच्न खुबै मन पर्थ्यो। कोच नहुँदा जे जस्तो जानिन्छ, त्यस्तै नाच्थेँ। लाजिम्पाटमा लालीगुराँस कल्चर भन्ने रहिछ। काठमाडौं आएपछि त्यहाँ सिक्न गए। त्यहाँ हरेक कम्युनिटीको नाच सिकाइँदो रहेछ। मैले सिके। त्यसपछि म लालुपाते कल्चरमा आए। यसमा चाही वसन्त श्रेष्ठले डान्स सिकाउनु हुन्थ्यो। त्यहाँ पनि मैले डान्स सिकेपछि एभरेष्ट कल्चरमा आए। यहाँ चाही जान्ने जान्नेलाई पनि लिन्थ्यो। यो लाल दरबार भित्र थियो। त्यहाँ म आइपुग्दा टप टप कलाकारहरूलाई देखे। डेनी, हेमा मालिनी लगायत थुप्रै कलाकारहरूसँग भेट भयो।

मैले राष्ट्रिय नाचघरमा जागिरेका रूपमा काम गरे। गणेश रसिक भएको समयमा म राष्ट्रिय नाचघरमा नृत्य र नाटकमा काम गरे। गणेश रसिकभन्दा अगाडि नारायण गोपाल जिएम हुनुहुन्थ्यो। उहाँको पालामा जुरेन। किनभने कलाकारका लागि आवेदन दिने धेरै थिए। गणेश रसिकको पालामा कलाकारको माग गरिएको थियो। त्यस बेला भने म छनोट भए। त्यहाँ काम गर्दा मेरो हरिप्रसाद रिमाल गुरु हुनुभयो। उहाँका थुप्रै नाटकहरूमा पनि काम गरे। 

माघ २२, २०८२ बिहीबार २३:४८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।