अपदस्त भइसकेकाहरूको आलोचना आवश्यक छैन : लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको समृद्धि र स्थायी शान्ति आफ्नो दलको मुख्य प्राथमिकतामा भएको बताएका छन्।
चुनावी अभियानको लागि बिहीबार चितवन पुगेका लामिछानेले अबको राजनीतिक यात्रा उत्पादन, रोजगारी र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुने बताए। उनले मुलुकलाई आर्थिक रूपमा सबल बनाउन युवा स्वरोजगार र उद्योगहरूको स्थापना अनिवार्य रहेको उल्लेख गरे।
"यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ, स्थायी शान्ति कसरी हुन्छ, युवाहरूलाई रोजगारी कसरी गर्न सकिन्छ, उद्योगहरू कसरी स्थापित गर्न सकिन्छ, गुणस्तरीय सेवा सबैको पहुँचमा कसरी पुर्याउन सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकता हो,' उनले भने।
उनले अन्य दलका नेताहरूको आलोचनामा समय खर्च गर्ने पक्षमा आफू नरहेको बताए। जेनजी आन्दोलनले मुलुकमा ल्याएको परिवर्तनतर्फ लक्षित गर्दै उनले नागरिकले अस्वीकार गरिसकेका नेता वा दलहरूको आलोचना गरिरहनु नपर्ने टिप्पणी गरे।
'म कुनै राजनीतिक दल या अमुक नेतालाई गाली गर्ने पक्षमा छैन। नेपाली जनताले अपदस्त गरिसकेपछि अपदस्त भइसकेकाहरूलाई मैले गाली गर्नै पर्दैन,' लामिछानेले भने। उनले सिंगो देशले पाएको दुखको अगाडि आफ्नो पीडा केही पनि नभएको बताए।
उनले भने, ‘सिंगो देशले पाएको दुखको अगाडि मेरो कुनै हिसाब छैन। सिंगो देशले दुख पाएको छ। आजबाट कहिले काहीँ धेरै पीडा भएर कराएछु भने सुनिदिनुहोला नत्र भने आजबाट म मेरो पीडाको कुरा गर्दिन, देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नको लागि हामी कसरी जानुपर्छ त्यसको लागि जानेछौँ। म कुनै राजनीतिक दल वा अरू नेतालाई गाली गर्ने पक्षमा छैन।’
माघ २२, २०८२ बिहीबार १९:२४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।