रास्वपा उम्मेदवारको चुनावी प्रचारमा हिडेकाे कारको ठक्करबाट बालिकाको मृत्यु, चालक फरार

रास्वपा उम्मेदवारको चुनावी प्रचारमा हिडेकाे कारको ठक्करबाट बालिकाको मृत्यु, चालक फरार

रौतहट : रौतहटमा बिहीबार दिउँसो कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

गाडीको ठक्करबाट इशनाथ नगरपालिका-४ मठिया टोलस्थित मजिस्द नजिकै खेलिरहेकी स्थानीय मोहम्मद सगिर आलमकी ४ वर्षीया छोरी अरफा खातुनको मृत्यु भएको हो। 

प्रहरीका अनुसार खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै कार चालकले नै उपचारका लागि गौरस्थित सिटी अस्पताल पुर्याएका थिए। तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो। प्रादेशिक अस्पतालमा उपचारकै क्रममा दिउँसो २ः४५ बजे बालिकाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटना लगत्तै प्रहरी टोलीले ठक्कर दिने कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको छ।

रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको चुनावी प्रचारको गाडी रहेको बुझिएको छ। प्रहरीका अनुसार फरार रहेका चालकको खोजी कार्य तिव्र पारिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

मृतक बालिकाको शव अहिले प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

माघ २२, २०८२ बिहीबार १७:३१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।