साताको अन्तिम दिन नेप्सेमा हरियाली, तीन कम्पनीमा सर्किट
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.१९ अंकले बढेर बन्द भयो। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से बिहीबार बढेर २७०८.७० विन्दुमा पुग्यो।
सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले वृद्धि भयो। नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ।
बुधबार ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भयो।
बिहीबार ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य सकारात्मक सर्किटमा पुग्यो। त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढोत्तरी भयो। यद्यपि, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको बिहीबार ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, राधी विद्युत कम्पनीको ५७ करोड रुपैयाँभन्दा बढी र एसवाई प्यानल नेपालको साढे ५३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ। साथै, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य रूपमा घटेको छ।
माघ २२, २०८२ बिहीबार १७:०४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।