क्यानडाविरुद्धको अभ्यास खेलमा नेपालको ६ विकेटको जित
काठमाडौं : टी-२० विश्वकपको तयारीका लागि भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा भएको दोस्रो अभ्यास (वार्म-अप) खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ। क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रनको योगदान दिए। त्यस्तै श्रेयस मोभाले अविजित ३८ रन, कन्वरपाल तथागुरले २५ रन र जष्करण सिंहले २१ रन जोडेका थिए।
नेपालको बलिङतर्फ सन्दीप लामिछानेले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले २ विकेट हात पारे भने सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।
१६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर आसिफ शेखले आक्रामक सुरुवात दिलाए। उनले २९ बलमा ६ चौका र ३ छक्काको मद्दतले ५८ रन जोडे। त्यस्तै सन्दीप जोराले ३० बलमा ४४ रन, गुल्सन झाले अविजित ३१ रन, कुशल भुर्तेलले १२ रन र दीपेन्द्र सिंह ऐरीले अविजित ९ रनको योगदान दिए। क्यानडाका साद बिन जफर, जष्करण सिंह र अजयवीर हुन्डलले १-१ विकेट लिए।
नेपालको यो लगातार दोस्रो अभ्यास खेलको जित हो। यसअघि मंगलबार भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो। नेपाली टोली अब चेन्नईबाट मुम्बई जानेछ। विश्वकपको समूह चरणको पहिलो खेलमा नेपालले आगामी आइतबार इंग्ल्यान्डको सामना गर्ने कार्यतालिका रहेको छ।
माघ २२, २०८२ बिहीबार १६:५४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।