चुनावी प्रचारमा घृणायुक्त आरोप-प्रत्यारोप नगर्न आयोगको आग्रह
काठमाडाैँ : राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप-प्रत्यारोप नगर्न आग्रह गरेको छ।
बिहीबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै राजनीतिक दल र उम्मेदवारलाई सचेत गराएका हुन्।
चुनावी प्रचारका क्रममा राजनीतिक दलका केही नेता र उम्मेदवारले एक-अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको पाइएको आयोगले जनाएको छ।
त्यस्तै, सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आयोगले आग्रह गरेको छ।
आयोगले भनेको छ, ‘निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’
विभिन्न राजनीतिक दलका कार्यालयमा भएका तोडफोडका घटनाप्रति पनि आयोगले चासो देखाएको छ।
माघ २२, २०८२ बिहीबार १६:०३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।