चुनावी अभियानका लागि चितवन पुगे रवि

चुनावी अभियानका लागि चितवन पुगे रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी अभियानका लागि चितवन पुगेका छन्। खुट्टाको चोटका कारण उपचाररत रहेका उनी बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल ओर्लिए।

गत माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रमका क्रममा लामिछानेको बायाँ खुट्टामा चोट लागेको थियो। चोटमा संक्रमण देखिएपछि उनले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका थिए। अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका लामिछाने बिहीबार पत्नी निकिताको साथमा चितवन पुगे।

भरतपुर विमानस्थलमा लामिछानेलाई रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूले स्वागत गरेका थिए। सार्वजनिक तस्बिरहरूमा उनको बायाँ खुट्टामा कुर्कुच्चादेखि घुँडासम्म ब्यान्डेज गरिएको देखिएको छ भने उनलाई हिँडडुलमा कठिनाइ भइरहेको छ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, चितवन बसाइका क्रममा उनले लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्ने र भरतपुरको विशालचोकस्थित निवासमा गृह प्रवेश गर्ने कार्यक्रम छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर-२ बाट उम्मेदवार छन्। यसअघि सोही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका उनले स्वास्थ्य अवस्थाका कारण तत्कालै सक्रिय घरदैलो गर्न नसके पनि निवासबाटै सीमित भेटघाट र चुनावी छलफल गर्ने तयारीमा छन्। उनलाई अझै केही समय आराम गर्न चिकित्सकको सुझाव छ। 

माघ २२, २०८२ बिहीबार १५:५८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।