झापा-५ मा बालेनको सम्पर्क कार्यालय रहेको घरमा तोडफोड
झापा : झापा क्षेत्र नम्बर ५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय रहेको घरमा गएराति तोडफोड भएको छ।
कमल गाउँपालिका-२, क्याम्पास्थित स्थानीय जयराम अधिकारीको घरमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको हो।
उक्त घरमा रास्वपाका वरिष्ठ नेता एवं झापा-५ का उम्मेदवार बालेन शाहको चुनावी सम्पर्क कार्यालय सञ्चालनमा थियो। ढुङ्गा प्रहारबाट घरको झ्यालको सिसा फुटेको छ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी)किशोर लम्सालका अनुसार रास्वपाको कार्यालय एकातिर भए पनि घरको अर्कोतर्फको झ्यालको सिसा फुटेको पाइएको छ।
‘गएराति घटना घटेको भए पनि हामीले बिहान मात्र खबर पायौं, अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ’, लम्सालले भने।
झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराज गेलालले पनि सम्पर्क कार्यालय रहेको कोठामा क्षति नभई घरधनी बस्ने कोठाको सिसा फुटेको जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली खटिएर थप बुझ्ने काम भइरहेको बताइन्।
झापा क्षेत्र नम्बर ५ लाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ। यहा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रतिस्पर्धा गर्दैछन्।
चुनावलाई लक्षित गरी खोलिएको सम्पर्क कार्यालय रहेको घरमा आक्रमण भएपछि रास्वपाका स्थानीय नेताहरूले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्।
रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराई र कमल गाउँपालिका सभापति केदार चापागाईंले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
माघ २२, २०८२ बिहीबार ११:३८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।