विश्वकप तयारीको अन्तिम खुड्किलो आज, क्यानडासँग अभ्यास खेल खेल्दै नेपाल
काठमाडौं : आईसीसी टी-२० विश्वकप-२०२६ को तयारीलाई बिट मार्दै नेपालले आज (बिहीबार) क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुने यो खेलमार्फत नेपाल विश्वकपमा उच्च मनोबलका साथ प्रवेश गर्ने लक्ष्यमा छ।
यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले आफ्नो ब्याटिङ र बलिङ दुवैमा सकारात्मक संकेत दिइसकेको छ।
विश्वकपअघि भारत र श्रीलंकामा विभिन्न अभ्यास खेलहरू खेलेर अनुभव बटुलेको नेपाली टोलीका लागि आजको खेल ‘फाइन ट्युनिङ’ को अवसर हो।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले क्यानडाविरुद्धको नतिजा आफ्नो पक्षमा पार्दै सुखद अन्त्यसहित मुम्बई प्रस्थान गर्ने योजना बनाएको छ।
समूह ‘सी’ मा रहेको नेपालले फेब्रुअरी ८ मा पूर्व विश्वविजेता इंग्ल्याण्डसँग खेल्दै आफ्नो विश्वकप यात्राको औपचारिक थालनी गर्नेछ।
नेपालका लागि यो विश्वकप समूह चरण निकै चुनौतीपूर्ण र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूहमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्याण्डसहित स्कटल्याण्ड र इटाली रहेका छन्।
नेपालको आगामी खेल तालिका:
फेब्रुअरी ८: विरुद्ध इंग्ल्याण्ड (पहिलो भेट)
फेब्रुअरी १२: विरुद्ध इटाली (पहिलो भेट)
फेब्रुअरी १५: विरुद्ध वेस्ट इन्डिज
फेब्रुअरी १७: विरुद्ध स्कटल्याण्ड
समूह चरणका नेपालका सबै खेलहरू मुम्बईमा हुनेछन्। विशेष कुरा त के छ भने, नेपालका खेलहरूका लागि अग्रिम रूपमै सबै टिकट बिक्री भइसकेका छन्, जसले मुम्बईमा पनि घरेलु मैदानकै झल्को दिने अपेक्षा गरिएको छ।
सन् २०१४ र २०२४ पछि तेस्रो पटक विश्वकपको मञ्चमा उत्रिन लागेको नेपालले यसपटक बलिया राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै नयाँ इतिहास रच्ने लक्ष्य लिएको छ।
माघ २२, २०८२ बिहीबार ०८:०९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।