मिसन पुस्तान्तरण-१४ : जेनजी आन्दोलनमा मन्त्री रहेका ‘हेभीवेट’ पृथ्वीसुब्बालाई लमजुङमा ३५ वर्षीय हरिजंगको चुनौती

मिसन पुस्तान्तरण-१४ : जेनजी आन्दोलनमा मन्त्री रहेका ‘हेभीवेट’ पृथ्वीसुब्बालाई लमजुङमा ३५ वर्षीय हरिजंगको चुनौती

काठमाडौं : फागुन २१ गतेको आम निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्दो छ।

जेनजी आन्दोलनले राजनीतिक दलहरूलाई आफ्नो अनुहार फेर्न र युवाहरूलाई अगाडि सार्न बाध्यात्मक परिस्थिति सिर्जना गरिदिएपछि लमजुङ क्षेत्र नम्बर-१ मा एउटा रोचक र पेचिलो चुनावी भिडन्तको तयारी छ।

यहाँ ‘ओल्ड स्कुल’ राजनीतिका माहिर खेलाडी मानिने पूर्वमुख्यमन्त्री एवं संघीयमन्त्री समेत भइसकेका एमालेका ‘हेभिवेट’ नेता पृथ्वीसुब्बा गुरुङसँग प्रतिस्पर्धाका लागि ११ जना उम्मेदवारहरूमा केही युवा पनि छन्।

त्यसैमध्येका एक हुन्- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट संसदीय यात्राको अवसर पाएका ३५ वर्षीय हरिजंग तामाङ।

२०४३ सालदेखि राजनीतिमा सक्रिय पृथ्वीसुब्बा गुरुङ लमजुङको राजनीतिमा एकछत्र राज गरेका नेता हुन्। सुब्बा तिनै नेता हुन्, जो भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री थिए।

उनकै प्रस्तावमा नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको थियो। सुशासनको माग उठाएर भएको जेनजी आन्दोलनको ‘ट्रिगर पोइन्ट’ भने सामाजिक सञ्जाल बन्द नै थियो।

युवाहरूले भ्रष्टाचार र बेथितिविरुद्ध डिजिटल प्लेटफर्ममार्फत आवाज उठाइरहँदा सरकारका प्रवक्तासमेत रहेका गुरुङकै पहलकदमीमा सामाजिक सञ्जालहरू बन्द गराइयो।

युवाहरूको वाक स्वतन्त्रता कुण्ठित गरेको र आन्दोलनलाई बलपूर्वक दबाउन खोजेको आक्रोश युवा पुस्तामा अझै ताजै छ।त्यही आक्रोशको ‘सेन्टिमेन्ट’ क्यास गर्न र पुरानालाई विस्थापित गर्नका लागि चुनावी मैदानमा उत्रिएका हुन्- तामाङ।

को हुन् हरिजंग?
लमजुङमै बसेर स्थानीय राजनीतिमा भिजेका नेता हुन्- हरिजंग तामाङ।

माओवादी पृष्ठभूमिका तामाङमा २०६० सालदेखि राजनीतिक चेत आए पनि २०६२/०६३ को जनआन्दोलनपछि मात्र पूर्णकालीन राजनीतिमा होमिएका थिए। विद्यार्थी राजनीतिमा कमै देखिएका उनी युवा संगठन वाईसीएलको रापतापबाट पनि टाढै रहेको दाबी गर्छन्।

‘काठमाडौंमा पढ्दा अहिलेको जस्तो विद्यार्थी संगठन थिएनन्, युवाहरूको संगठन वाईसीएल भन्ने थियो तर म त्यसमा पनि लागिनँ,’ उनी भन्छन्, ‘म गाउँमा गाविस सेक्रेटरीको भूमिकामा थिएँ, त्यसैले मेरो काँधमा जनताको प्रशासनिक कामको जिम्मेवारी पनि थियो।’

२०७२ मा संविधान जारी भएपछि पार्टीले उनलाई प्रदेश र जिल्लाको जिम्मेवारी दियो। तर, सधैँ एउटै लिकमा उनको राजनीति चलेन। २०७३ जेठ ३० गते बाबुराम भट्टराईले गठन गरेको ‘नयाँ शक्ति पार्टी’ मा उनी आबद्ध भए।

नयाँ शक्तिले उनलाई इलाका इन्चार्जको जिम्मेवारी त दियो, तर पार्टीले सोचेजस्तो गति लिन सकेन। राजनीतिक वितृष्णा र भविष्यको खोजीमा उनी केही समय राजनीतिबाट विश्राम लिँदै भारतको मुम्बईसम्म पुगे।

‘नयाँ शक्ति छोडेर म मुम्बई गएँ, तर त्यहाँको प्रवास बसाइले मलाई शान्ति दिएन। मन त देशमै थियो,’ तामाङले विगत सम्झिए, ‘त्यसपछि म फेरि नेपाल फर्किएँ र माओवादीमै जोडिएँ।’

अध्ययनमा अब्बल तामाङले राजनीतिलाई मात्र नभएर प्राज्ञिक ज्ञानलाई पनि सँगसँगै अगाडि बढाएका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी हाल सोही विषयमा एमफिल गर्दैछन्।

‘नीति निर्माण तहमा पुग्ने मान्छेले कानुन र राजनीतिशास्त्र बुझ्नु अनिवार्य छ’, उनी उकेरासँग भन्छन्।

हारबाट पाठ सिक्दै संसदीय यात्रामा
तामाङका लागि चुनावी मैदान नयाँ होइन। २०७९ को स्थानीय तह निर्वाचनमा उनले सुरुमा माओवादी केन्द्रबाट मेयरको टिकट पाएका थिए।

तर, कांग्रेससँगको गठबन्धनका कारण उनले उपमेयरको उम्मेदवारमा चित्त बुझाउनुपर्यो। दुर्भाग्यवश, उक्त निर्वाचनमा उनले पराजय भोगे। त्यो हारलाई शक्तिमा बदल्दै उनी अहिले संघीय संसदको यात्रा तय गर्न तम्सिएका छन्।

२०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्षअगाडि नै हुनु र देशमा यो परिस्थिति आउनुमा तामाङ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै प्रतिस्पर्धी एवं ओली सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई दोषी देख्छन्।

‘केपी ओलीको सरकारले जेन-जीका माग समयमै सुनेको भए सिंहदरबार जल्ने थिएन, होनहार युवाहरू मारिने थिएनन्,’ तामाङ भन्छन्, ‘ओलीलाई उक्साउने र गलत सल्लाह दिने काम सञ्चारमन्त्रीका रूपमा पृथ्वीसुब्बाले नै गरेका हुन्। सुशासन दिन नसक्ने र भ्रष्टाचारीलाई संरक्षण गर्नेहरूलाई अब जनताले मत दिँदैनन्।’

लमजुङ-२ मा ‘गढ’ भत्किने डर
जेनजी आन्दोलनपछि देशको चुनावी अंकगणितमा आकाश-पातालको फरक आएको छ। परम्परागत भोट बैंक भत्किएका छन् भने ‘स्विङ भोटर’ को संख्या ह्वात्तै बढेको छ।

लमजुङ क्षेत्र नम्बर २ को इतिहास हेर्दा, कुनै समय कांग्रेसको गढ मानिने यो क्षेत्रमा संघीयता कार्यान्वयनपछि एमालेका पृथ्वीसुब्बा गुरुङको दबदबा रहँदै आएको छ।

२०४३ सालदेखि चुनाव लड्दै आएका गुरुङ २०६४ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ मा प्रदेश सभा सदस्य जित्दै गण्डकी प्रदेशको मुख्यमन्त्री बने।

मुख्यमन्त्री हुँदा उनले आफ्नो निर्वाचन क्षेत्र (प्रदेश ‘ख’) मा बजेट खन्याएको तर अर्को क्षेत्र (प्रदेश ‘क’) लाई उपेक्षा गरेको आरोप उनीमाथि छ। विकासमा विभेद गरेको र पछिल्लो जेनजी आन्दोलनमा उनको भूमिकालाई लिएर उनको लोकप्रियता खस्किएको प्रष्टै देखिन्छ।

यद्यपि यहाँको चुनाव दुई पक्षीय मात्र छैन, बहुपक्षीय हुने देखिन्छ। नेकपाबाट तामाङ र एमालेबाट गुरुङ उठ्दा कांग्रेसका गमप्रसाद गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्म केसी पनि बलिया प्रतिस्पर्धी हुन्। यसका अलावा एक स्वतन्त्रसहित १२ उम्मेदवार यहाँ छन्।

नेकपाको संगठन लमजुङमा तुलनात्मक रूपमा कमजोर मानिन्छ। तर, हरिजंग तामाङ संगठनको भोटभन्दा पनि ‘जेनजी’ सेन्टिमेन्ट र ‘नो नट अगेन’ को नारामा विश्वासमा छन्।

०००

भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।

हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।

जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।

मिसन पुस्तान्तरणको यसअघिका सामग्री:

माघ २२, २०८२ बिहीबार ०९:३१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।