पाकिस्तानका प्रधानमन्त्री शरिफले खुलाए भारतसँग टी-२० विश्वकप नखेल्नुको कारण

पाकिस्तानका प्रधानमन्त्री शरिफले खुलाए भारतसँग टी-२० विश्वकप नखेल्नुको कारण

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले सन् २०२६ को पुरुष टी-२० विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय बंगलादेशप्रतिको ऐक्यबद्धता भएको बताएका छन्।

बंगलादेशलाई प्रतियोगिताबाट हटाइएपछि पाकिस्तानले उनीहरूको समर्थनमा यो कदम चालेको हो।

यो विषयमा पाकिस्तान सरकार वा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का तर्फबाट आधिकारिक रूपमा कारण खुलाइएको यो पहिलो पटक हो।

बुधबार आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूसँग कुरा गर्दै प्रधानमन्त्री सरिफले भने, ‘हामीले टी-२० विश्वकपमा भारतसँगको खेल नखेल्ने स्पष्ट अडान लिएका छौँ किनभने खेल मैदानमा राजनीति हुनु हुँदैन। यो निकै सोचविचार गरेर लिइएको निर्णय हो र हामीले बंगलादेशको साथमा उभिनुपर्छ।’

पाकिस्तान सरकारले गत आइतबार एक सूचना जारी गर्दै आफ्नो टोली विश्वकपमा सहभागी हुने तर फेब्रुअरी १५ मा हुने भारतविरुद्धको समूह चरणको खेल भने नखेल्ने जनाएको थियो। त्यतिबेला यसको कारण खुलाइएको थिएन।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भने पाकिस्तानको यो निर्णयप्रति चिन्ता व्यक्त गरेको छ। आईसीसीले यस कदमले पाकिस्तानकै क्रिकेट र विश्वव्यापी क्रिकेट प्रणालीमा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएको छ।

बंगलादेश सरकारले सुरक्षाको कारण देखाउँदै आफ्नो टोलीलाई भारत पठाउन अस्वीकार गरेको थियो। बंगलादेशले आफ्ना खेलहरू सह-आयोजक राष्ट्र श्रीलंकामा खेलाउन माग गरेको थियो, जहाँ पाकिस्तानले पनि आफ्ना सबै खेलहरू खेल्दैछ।

तर, आईसीसी बोर्डले बंगलादेशको खेल श्रीलंकामा सार्नुको साटो उनीहरूलाई हटाएर स्कटल्याण्डलाई मौका दिने निर्णय गर्यो। उक्त मतदानमा १४-२ को नतिजा आएको थियो, जसमा पाकिस्तान र बंगलादेशले मात्र विपक्षमा मत दिएका थिए।

प्रधानमन्त्री सरिफको यो भनाइले पीसीबी अध्यक्ष तथा गृहमन्त्री मोहसिन नकवीको आरोपलाई पुष्टि गरेको छ। नकवीले आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका थिए।

नकवीले भने, ‘सन् २०२५ को च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तान आउन अस्वीकार गर्दा केही भएन, तर अहिले बंगलादेशलाई भने अन्याय गरिएको छ। एउटा देश(भारत)ले जे चाह्यो त्यही गर्न पाउने र अरूले भने ठीक उल्टो गर्नुपर्ने हुन सक्दैन। बंगलादेश क्रिकेटको एक प्रमुख हिस्सेदार हो र उनीहरूले विश्वकप खेल्न पाउनुपर्छ।’

माघ २२, २०८२ बिहीबार ०७:२९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।