सुरक्षामा राज्यको दोहोरो मापदण्ड: ओलीलाई हतियारधारी, बालेन-गगनलाई सहयोगी

सुरक्षामा राज्यको दोहोरो मापदण्ड: ओलीलाई हतियारधारी, बालेन-गगनलाई सहयोगी

काठमाडौँ : फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्न झापा-५ निर्वाचन कार्यालयमा जाने क्रममा आफ्नो पछि लागेको भिडलाई धकेलेको दृश्य सार्वजनिक भएसँगै बालेन्द्र शाहको खूब आलोचना भयो। उम्मेदवारी दर्ता गर्न जाँदा पछि लागेकामध्ये केहीलाई उनले आक्रोशित हुँदै धकेलेका थिए। त्यो बेलामा उनको वरिपरि केही सहयोगी मात्रै देखिएका थिए।

बालेन्द्र केवल झापा-५ बाट प्रतिनिधि सभाको उम्मेदवार मात्रै हैनन्, उनी राष्ट्रिय मान्यता प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता अनि पार्टीका तर्फबाट भावी प्रधानमन्त्री घोषित उम्मेदवार पनि हुन्। तर त्यो रूपमा उनको सुरक्षा प्रबन्ध देखिएन।

उम्मेदवारी दर्ताको दिन मात्रै हैन, त्यसपछि पनि उनी निरन्तर चुनावी प्रचारमा छन्। र उस्तै दृश्य दोहोरिइरहेका छन्। बुधवार बालेन मोरङ क्षेत्र नम्बर ३ मा पुग्दा पनि अवस्था उस्तै देखियो।

भिडले घेरिएका उनलाई सुरक्षित ठाउँमा पुग्न हम्मेहम्मे भइरहेको थियो। केही सुरक्षाकर्मीले भिडलाई धकेलिरहेको थियो। तर उनी भिडमुक्त हुन सकेका थिएनन्। त्यहाँ न प्रहरीले नै उचित सुरक्षा प्रबन्ध मिलाएको देखियो न त पार्टीका स्वयम् सेवकले नै।

अब माघ ६ अनि झापा-५ कै दृश्य। त्यही क्षेत्रका उम्मेदवार केपी ओली उम्मेदवारी दर्ता गर्न जाँदा सादा पोसाकका प्रहरीसँगै एसएमजी बोकेका सशस्त्र प्रहरी उनको सुरक्षामा खटिएका थिए। उनले पाएको सुरक्षाकर्मी निवर्तमान प्रधानमन्त्रीको हैसियतमा हो।

भिडमा बालेन।तर उनीसँग राज्यको सुरक्षाकर्मी मात्र छैनन्, पार्टीको युवा स्वयम् सेवक दस्ता पनि छन्। तर मुख्य सुरक्षा घेरा भने सुरक्षाकर्मीले व्यवस्थापन गरेका थिए। उनको अगाडि र पछाडि सादा पोसाकका प्रहरी देखिएका थिए भने भिडलाई नजिक आउन नदिन हतियारधारी सशस्त्र प्रहरीले काम गरिरहेका थिए।

नेपाली कांग्रेसका सभापति गगन थापा यस पटक काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ मा गए। उम्मेदवारी दर्ता प्रतिनिधि मार्फत गराएका उनी भेटघाटमा सर्लाही पुगेका थिए।

सर्लाहीमा हिँड्दा उनीसहितको गाडीको ताँतीको अगाडि र पछाडि सुरक्षाकर्मीको गाडी देखिन्थ्यो। तर जब भिडभाडमा उनी जान्थे त्यहाँ सुरक्षाकर्मी देखिएनन्। उनी कांग्रेसले प्रस्ताव गरेका भावी प्रधानमन्त्री हुन्। तर सुरक्षा अनि निर्वाचन हिंसाले बदनाम सर्लाहीमा जुन रूपमा सुरक्षा प्रबन्ध गर्नुपर्ने थियो त्यो देखिएन।

खै तीन घेराको सुरक्षा रणनीति ?

प्राय जसो उम्मेदवारको पार्टीगत हैसियत, सरकारमा सहभागिता अनि सुरक्षा जोखिमको आधारमा सुरक्षा निकायले सुरक्षा रणनीति बनाउने गर्छ। अहिलेको अवस्थामा निर्वाचनको सबैभन्दा जोखिमपूर्ण अवस्था दलका समर्थकबीच बढ्दो घृणा, भदौ २४ मा कारागारबाट भागेका कैदी/बन्दी र निर्वाचनको विपक्षमा रहेको शक्ति नै हो।

यसको आधारमा उम्मेदवार हेरेर सुरक्षा संगठनले सुरक्षा रणनीति अपनाउनु पर्ने हो। तर त्यस्तो देखिएन। सामान्य रूपमा अपनाइने सुरक्षा विधि तीन घेराको सुरक्षा रणनीति नै हो। ओलीको हकमा सोही अनुसारको सुरक्षा रणनीति देखिन्छ। तर गगन र रविको हकमा त्यस्तो देखिएन।

पिएसओको भित्री घेरा 

तीन घेराको सुरक्षा रणनीतिमा सबैभन्दा नजिकको घेरा व्यक्तिगत सुरक्षा टोली हो। सम्बन्धित उम्मेदवारलाई चौबीसै घण्टा घेरेर राख्न नेपाल प्रहरी र सशस्त्रबाट तालिमप्राप्त अङ्गरक्षकहरू खटाइन्छ जसले भीडमा कसैलाई पनि अनधिकृत रूपमा नजिक आउन दिँदैन।

ओलीको हकमा सादा पोशाकमा व्यक्तिगत अङ्गरक्षक देखिन्छन् जो खैरो कोर्टमा कालो चस्मासहित सबैभन्दा नजिक खटिने गरेका छन्। गगनको हकमा सरकारले एक जना पिएसओ खटाएको खुल्यो। तर बालेनको हकमा त्यो पनि देखिएन।

सुरक्षाहिन गगन। सचिवालयका सहयोगी सुरेन्द्र बजगाईँका अनुसार उनी चुनावी प्रचारमा हिँड्दा स्थानीय प्रहरीलाई पूर्व जानकारी दिने गरिएको छ। भिड हुनसक्ने स्थानमा सुरक्षाकर्मीहरू आए पनि मुख्य व्यवस्थापन भने बालेनसँग हिँड्ने सहयोगीले नै गर्ने गरेको उनले जानकारी दिए।

“अहिलेसम्म व्यक्तिगत सुरक्षाका लागि भनेर पिएसओ लिएका छैनौँ,” उनले उकेरासँग भने “सुरक्षा सङ्गठनबाट कहाँ,कुन समयमा जाने हो भन्ने पक्षमा भने समन्वय हुने गरेको छ।”

गगनका सहयोगी शंकर कुइँकेल सुरक्षा सङ्गठनबाट एक जना पिएसओ खटिने गरेको र अन्य सुरक्षा प्रबन्ध जहाँ जाने हो त्यहीँको सुरक्षाकर्मीले गर्ने गरेको जानकारी दिए।

भिड र शंका लागेका रोक्न मध्य घेरा 

अर्को महत्वपूर्ण घेरा हो मध्य घेरा जुन अङ्गरक्षक भन्दा बाहिर रहेका हुन्छन्। यसमा पनि अधिकांश सादा पोसाकका सुरक्षाकर्मीहरू हुन्छन्। यस्तो सार्वजनिक कार्यक्रमहरूमा सम्बन्धित उम्मेदवार जाँदा सम्भावित जोखिमको मुल्यांकन, शङ्कास्पदमाथि निगरानी गर्न उनीहरू भिडभित्रै मिसिएका हुन्छन्। भीडभित्रै मिसिएर उनीहरूले शंकास्पद गतिविधिमाथि निगरानी गर्छन्।

ओलीका हकमा यो सुरक्षा घेरा समेत रहेको देखियो। उनलाई यो सुरक्षा प्रबन्ध गरिएको पनि निवर्तमान प्रधानमन्त्रीको रूपमा हो। गगन र रविका लागि मध्य घेरा देखिएन।

स्थानीय सुरक्षाकर्मीको बाहिरी घेरा

सार्वजनिकस्थलमा उम्मेदवार आउँदा हुने भिड व्यवस्थापनका लागि स्थानीय प्रहरी र सशस्त्र प्रहरी बलले सम्बन्धित क्षेत्रको बाह्य सुरक्षा र भीड व्यवस्थापन गर्न खटिन्छन्। यो पक्षमा भने बालेन र गगनको हकमा पनि स्थानीय प्रहरी खटिएको देखिन्छ।

बालेन बुधवार सहभागी भएको कार्यक्रमहरूमा फाट्टफुट्ट सुरक्षाकर्मी देखिन्छन्। तर भिडको सङ्ख्याको तुलनामा उनीहरू निकै कम देखिन्छन्। बुधवार अधिकांश स्थानमा बालेन भिडकै बिचमा थिए। बालेनसँग फोटो खिचाउन खोज्नेहरूको भिड व्यवस्थापन हुन सकेको देखिएन। गगनको हकमा पनि उनको निर्वाचन क्षेत्रमा त्यस्तै दृश्य देखिएका थिए।

एमाले अध्यक्ष ओली उम्मेदवारी दर्ता बाहेक यसरी सार्वजनिक रूपमा मतदाताहरू भएको स्थानमा गएका छैनन्।

यसमा सुरक्षा जोखिम हुनसक्ने उम्मेदवार जाने ठाउँमा पहिल्यै गएर उक्त ठाउँको भौगोलिक अवस्था, सम्भावित जोखिम र जोखिम भएमा सुरक्षित हुने बाटो पहिल्याउन अग्रिम टोली पनि खटिन्छन्। उनीहरूले भिड नियन्त्रणका लागि प्रवेश र बाहिरिने बाटो छुट्टाछुट्टै निश्चित गर्छन्। 

सुरक्षामा खेलाँची गर्दै गृह प्रशासन

उम्मेदवारको सुरक्षा चुनौतीको विश्लेषणसहित सुरक्षा प्रबन्ध गर्नु गृह मन्त्रालयको दायित्व हो। त्यही दायित्व अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालिन हुन्छन्। उम्मेदवारी दर्तापछि तीव्र प्रतिस्पर्धात्मक देखिएका तीन दलबाट प्रधानमन्त्रीमा प्रस्तावित अनि आ-आफ्ना दलको उच्च पदमा रहेका मुख्य दुई उम्मेदवारको सुरक्षाको प्रबन्धले गृह प्रशासन सुरक्षा संवेदनशीलताप्रति त्यति गम्भीर देखिएन।

फागुन २१ को निर्वाचनको माहोल ताते पनि निर्वाचन त हुन्छ भन्ने संशय हराइसकेको छैन। प्रमुख दलका प्रमुख उम्मेदवारहरूमाथि हुनसक्ने सम्भावित हिंसाले निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्छ नै। तर गृह प्रशासनमा “नभएसम्म केही हुन्न” भन्ने मानसिकता देखियो।

सुरक्षाको घेरामा ओली।उकेराले उम्मेदवारहरूको सुरक्षा र त्यसमा पनि प्रमुख दलका मुख्य उम्मेदवारहरूको सुरक्षा प्रबन्ध कस्तो छ भनेर नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेसँग जिज्ञासा राख्दा त्यस्तै देखियो।

 उनले उम्मेदवार विशेषबारे खुलाएनन्। सुरक्षा जोखिमबारे दैनिक रूपमा सूचना संकलन गर्ने, महत्वपूर्ण उम्मेदवारहरूको दैनिक सूचना संकलन गर्ने र जोखिम विश्लेषण गर्ने गरेको बताए।

“हामी त्यस्ता उम्मेदवारहरूको सुरक्षा थ्रेटको दैनिक सूचना सङ्कलनको साथै खतरा तथा जोखिमको मूल्याङ्कन गर्छौँ” उनले भने।

काफ्लेका अनुसार उम्मेदवारहरूको सुरक्षामा जिल्ला सुरक्षा समिति हुँदै प्रहरी प्रधान कार्यालयमा सूचना संकलन हुने गरेको छ।कुनै घटना नहोस् भन्नको लागि हाई अलर्ट युनिट राखेको उनले दाबी गरे। 

“कुनै किसिमको झडप नहोस्  भनेर हामीले सम्बन्धित युनिट इन्चार्जलाई हाई अलर्टमा राखेका छौँ” उनले दाबी गरे।

झापा र सर्लाही दुवै भारतसँग सीमा जोडिएका जिल्ला हुन्। सुरक्षा संवेदनशीलताका आधारमा त सर्लाही ४ को अधिकांश भागलाई केन्द्रले नै चुनावी सुरक्षाका दृष्टिले अति जोखिमपूर्णको सूचीमा राखेको छ। त्यस्तो क्षेत्रमा कस्तो छ त सुरक्षा?

 काफ्ले भारतीय सीमा जोडिएको क्षेत्रमा अवैध घुसपैठ नहोस् भनेर प्रहरी सीमा सुरक्षासँग समन्वयन गरे बताए। सीमा सुरक्षामा निगरानी बढाउने र काउन्टर पार्टहरूसँग मिलेर तथ्याङ्क संकलन  गरिरहेको उनले दाबी गरे।

उनले जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार उम्मेदवारलाई सादा पोशाकमा पिएसओ खटाउने गरेको समेत बताए।

“यदि सादा पोशाकमा पिएसओ नै दिनुपर्ने अवस्था छ, त्यसको माग छ, त्यो अनुसारको खतरा छ भने अस्थायी रूपमा जिल्ला सुरक्षा समितिले पर्सनल पिएसओ दिन सक्ने कानुनी व्यवस्था छ” उनले भने।

माघ २१, २०८२ बुधबार २२:५१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।