सिरहा अस्पतालमा बिरामीको टिकट काटेको ३८ लाख हिनामिना, कर्मचारीको मृत्युपछि हकवाला श्रीमतीविरुद्ध मुद्दा

सिरहा अस्पतालमा बिरामीको टिकट काटेको ३८ लाख हिनामिना, कर्मचारीको मृत्युपछि हकवाला श्रीमतीविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहामा संकलित राजस्व रकम हिनामिना गरेको अभियोगमा तत्कालीन दुई अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अस्पतालको ओपीडी तथा अन्य सेवा बापतको टिकट काउन्टरबाट उठेको रकम बैंक दाखिला नगरी हिनामिना गरेको भन्दै आयोगले मंगलबार तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित प्रशासन, लेखा र बिल काउन्टरका कर्मचारीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।

आयोगको अनुसन्धानमा प्रादेशिक अस्पताल सिरहामा आर्थिक वर्ष २०८०/०८१ मा सफ्टवेयर प्रणाली मार्फत बिलिङ गर्दा कुल ३ करोड ८७ लाख ६६ हजार ९ सय ७४ रुपैयाँ ८३ पैसा संकलन भएको देखिन्छ। तर, अस्पतालको अभिलेख र बैंक भौचर भिडाउँदा ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र बैंकमा दाखिला भएको पाइएको छ।

बिलिङ सफ्टवेयरमा देखिएको रकम र बैंकमा दाखिला भएको रकमबीचको अन्तर ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा कर्मचारीहरूले मिलेमतोमा हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। महालेखापरीक्षकको प्रतिवेदनले समेत सोही रकम कैफियत देखाएको थियो।

आयोगका अनुसार बिल काउन्टरमा बस्ने कर्मचारीहरूले सफ्टवेयरमा आम्दानी देखाउने तर नगद भने बैंकमा जम्मा नगरी आफैँ राख्ने गरेका थिए। जसमा सबैभन्दा बढी रकम अ.हे.ब. श्याम कुमार मण्डलले हिनामिना गरेको देखिएको छ।

जसअनुसार मण्डलले २५ लाख ४७ हजार ४१७, सरस्वती कुमारी यादवले ५ लाख २ हजार ८१३, अजय कुमार मण्डलले ३ लाख ७९ हजार २१, पुजा कुमारी यादवले २ लाख ८८ हजार २२९ र रोशन कुमार यादवले १ लाख ६४ हजार ६५९ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ।

बिल काउन्टरका कर्मचारीले रकम हिनामिना गरिरहँदा अनुगमन गर्ने जिम्मेवारीमा रहेका कार्यालय प्रमुखहरू र प्रशासकीय अधिकृतहरूले बदनियत राखी मिलेमतो गरेको आयोगको ठहर छ।

कुन कर्मचारीले कति रकम संकलन गरे भन्ने सफ्टवेयरबाटै हेर्न मिल्ने व्यवस्था हुँदाहुँदै पनि तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादव, तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह र तत्कालीन लेखा प्रमुख अशोक कुमार यादवले हिनामिना गर्न सघाएको भन्दै उनीहरूमाथि पनि समान ३८ लाख ७७ हजार ७२४ रुपैयाँ बिगो दाबी गरिएको छ।

मुद्दामा प्रतिवादी बनाइएका तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि हिनामिना भएको सरकारी रकम असुल उपर गर्नुपर्ने भएकाले उनकी श्रीमती मुस्कान कुमारी मण्डललाई प्रतिवादी बनाइएको छ।

मृतक मण्डलले जीवित छँदा गरेको कसुरबापतको बिगो रकम ३८ लाख ७७ हजार रुपैयाँ उनको हकवाला श्रीमतीबाट असुल उपर गर्ने प्रयोजनका लागि मात्र उनलाई प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

अख्तियारले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र (१) को देहाय (घ), (ङ) र (छ) बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवानासहित हिनामिना भएको रकम असुल उपर गर्न मागदाबी गरेको छ।

माघ २१, २०८२ बुधबार ११:१६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।