चितवनको कुरिनटारमा बसको ठक्करबाट गोरखाका युवकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

चितवनको कुरिनटारमा बसको ठक्करबाट गोरखाका युवकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

चितवन : चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित केबलकार गेट अगाडि मंगलबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३६८ नम्बरको बसले मंगलबार बिहान करिब ८ः५३ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा बिहान १०ः१० बजे मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतकको सनाखत गोरखाको सहिद लखन गाउँपालिका-२ बस्ने अन्दाजी ३३/३४ वर्षीय जीवन परियारका रूपमा भएको छ। मृतकका दाजु प्रकाश परियारले शवको सनाखत गरेका थिए।

दुर्घटनापछि फरार रहेका बस चालक कैलालीको लम्कीचुवा नगरपालिका-१२ बस्ने ४२ वर्षीय सुवास विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिने बस र चालक हाल इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

पोस्टमार्टम पश्चात मृतकको शव मंगलबार साँझ नै आफन्तलाई जिम्मा लगाइएको छ।

माघ २१, २०८२ बुधबार ०९:५८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।