निर्वाचनमा मुस्ताङ : सुरक्षाभन्दा बढी मौसम चुनौतीपूर्ण
मुस्ताङ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमालपारिको जिल्ला मुस्ताङमा ३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।
जिल्लाका पाँचवटै स्थानीय तहमा रहेका मतदानस्थल सुरक्षाको दृष्टिकोणले सामान्य रहे पनि हिमपातले चुनौती थप्न सक्ने आकलन गरिएको छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिकूल मौसमले मतदान कार्यक्रम प्रभावित हुनसक्ने चिन्ता बढेको छ। प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार विगतमा फागुन-चैतमा हिमपात हुने गरेकाले यसपटक पनि सोही जोखिम कायमै छ।
विशेषगरी वारागुङ मुक्तिक्षेत्र-५ स्थित साङ्ता मतदान केन्द्र जोड्ने मुस्ताङ-डोल्पा सडकखण्ड विगत एक महिनादेखि बाक्लो हिउँका कारण अवरुद्ध छ।
प्रजिअ शर्माले भने, ‘मतदानको केही दिनअघि डोजर परिचालन गरी हिउँ पन्छाएर बाटो सहज बनाउने योजनामा छौँ।’
हिमपात भएको खण्डमा मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई आउजाउमा समस्या हुनसक्ने भन्दै प्रशासनले पूर्वतयारी थालेको छ।
यसपटक लोमान्थाङ गाउँपालिका-२ स्थित समजुङ मतदानस्थललाई सोही वडाको दिव्यदीप माध्यमिक विद्यालयमा गाभिएको छ। त्यस्तै, लोघेकर दामोदरकुण्डको ताङ्ग्याका मतदाताको सहजताका लागि एउटा मतदानस्थल थपिएको छ।
प्रशासनका अनुसार थासाङ गाउँपालिकामा ८, घरपझोङमा ६, लोघेकर दामोदरकुण्डमा १०, वारागुङ मुक्तिक्षेत्रमा ९ र लोमान्थाङमा ६ गरी जिल्लाभर कुल ३९ मतदान केन्द्र कायम गरिएका छन्। सबै केन्द्रमा सडक, विद्युत्, टेलिफोन र इन्टरनेटको सुविधा पुगेको छ।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार मुस्ताङमा कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन्। जसमा ५ हजार ५ सय ५९ पुरुष, ५ हजार ७ सय ६८ महिला र १ जना अन्य रहेका छन्।
स्थानीय तहगत रूपमा थासाङमा २ हजार ९०८, घरपझोङमा २ हजार ४९२, वारागुङ मुक्तिक्षेत्रमा २ हजार ३७६, लोमान्थाङमा २ हजार ११ र लोघेकर दामोदरकुण्डमा १ हजार ५४२ मतदाता छन्।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका २६६ जना र सशस्त्र प्रहरी बलका ४६ जना जनशक्ति परिचालन गरिनेछ। म्यादी प्रहरीको छनोट गरी आइतबारदेखि तालिम सुरु भइसकेको छ।
निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल, मङ्गोल नेसनल अर्गानाइजेसन र आमजनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन्।
माघ २१, २०८२ बुधबार ०९:४१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।