अरब सागरमा अमेरिकी सेनाले इरानी ड्रोन खसाल्यो, बढ्यो इरानसँगको तनाव

अरब सागरमा अमेरिकी सेनाले इरानी ड्रोन खसाल्यो, बढ्यो इरानसँगको तनाव

एजेन्सी : अमेरिकाले अरब सागरमा मंगलबार एक इरानी ड्रोन अमेरिकी युद्धपोतको नजिक आक्रामक शैलीमा आएपछि अमेरिकी सेनाले त्यसलाई खसालेको दाबी गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, अमेरिकी विमानवाहक युद्धपोत ‘युएस अब्राहम लिंकन’ र त्यहाँ कार्यरत सैनिकहरूको सुरक्षाका लागि उक्त ड्रोन खसालिएको हो।

युद्धपोतबाट उडान भरेको एफ-३५सी स्टिल्थ फाइटर जेटले ‘आत्मरक्षा’ का लागि सो कारबाही गरेको उनले बताए।

यो घटना इरानको तटबाट करिब ५०० माइल टाढा भएको हो। ड्रोन कुन उद्देश्यले अमेरिकी जहाजतिर अघि बढेको थियो भन्ने स्पष्ट भइसकेको छैन।

यद्यपि, यस घटनामा अमेरिकी सेनाको कुनै पनि उपकरणमा क्षति नपुगेको र कुनै सैनिक घाइते नभएको जनाइएको छ।

अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ र इरानसँगको तनाव चरम सीमामा रहेको बेलामा यो घटना भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरान परमाणु सम्झौताका विषयमा वार्ता गर्न तयार नभए उसविरुद्ध सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन्।

इरानी ड्रोन खसालिए लगत्तै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले फक्स न्युजसँग कुरा गर्दै अमेरिका र इरानबीच यसै साताको अन्त्यमा वार्ता प्रस्ताव गरिएको जानकारी दिइन्।

लेभिटले भनिन्, ‘राष्ट्रपति ट्रम्प सधैं पहिलो प्राथमिकता कूटनीतिक समाधानलाई दिन प्रतिबद्ध हुनुहुन्छ। तर, उहाँसँग सैन्य बलको प्रयोगसहितका अन्य विकल्पहरू पनि सधैं खुला छन्।’

माघ २१, २०८२ बुधबार ०८:०७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।