सुदूरपश्चिमको निर्वाचन सुरक्षामा सबै क्षेत्रमा सशस्त्रको सुरक्षा बेस, डिएसपीको कमान्डमा टोली
महेन्द्रनगर : फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गर्ने तयारी गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनीका निमित्त वाहिनीपती सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीका अनुसार सुदूरपश्चिमका नौ जिल्लाका १६ वटै निर्वाचन क्षेत्रमा बुधवारदेखि सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना हुने भएको हो।
“सोह्र वटै निर्वाचन क्षेत्रमा डिएसपीको नेतृत्वमा निर्वाचन सुरक्षा बेस भोलिबाट सञ्चालनमा आउँछन्”, निमित्त वाहिनीपछि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले भने, “हामीले निर्वाचन केन्द्रित सुरक्षा योजना बनाएर अघि बढेको छौँ।”
उनले आसन्न निर्वाचन सुरक्षाका लागि सुदूरपश्चिममा पाँच हजार १ सय भन्दा बढी सशस्त्र प्रहरी परिचालन हुने जानकारी दिए। यसका लागि सबै जिल्लामा निर्वाचन प्रहरीलाई १० दिने अनुशिक्षण तालिम दिएको उनले जानकारी दिए। सशस्त्र प्रहरीले वाहिनीस्तरमा ‘वाहिनी निर्वाचन सेल’समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ।
“सबै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय, मतदान अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी परिचालन भइसकेको छ”, उनले भने, “सबै सशस्त्र प्रहरी कार्यालयमा रिजर्भ टोली तयारी अवस्थामा राखिनेछ।”
सशस्त्र प्रहरीले अन्य सुरक्षा निकाय र सरोकारवाला निकायसित समन्वय गरिरहेको र निर्वाचनअघि साधनस्रोतको व्यवस्थापन गरिने उनले बताए। सशस्त्र प्रहरीअन्तर्गत सुदूरपश्चिममा एक हजार ५ सय निर्वाचन प्रहरीलाई तालिम सञ्चालन भइरहेको छ।
माघ २०, २०८२ मंगलबार १७:३२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।