एक महिनामा मुस्ताङमा भित्रिए साढे दस हजार बढी विदेशी पर्यटक

एक महिनामा मुस्ताङमा भित्रिए साढे दस हजार बढी विदेशी पर्यटक

मुस्ताङ : यसवर्षको जनवरीमा मात्रै मुस्ताङमा १० हजार आठ सय बिदेशी पर्यटक भित्रिएका छन्। गत वर्षकाेभन्दा यो संख्या दोब्बरले बढेको हो।

मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको (सन् २०२६) जनवरीमा १० हजार आठ सय २२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। जसमध्ये सार्क राष्ट्रबाट १० हजार ४५ र अन्य देशबाट सात सय ७७ जना मुस्ताङ भित्रिएको एक्याप प्रमुख राजेश गुप्तले जानकारी दिए। 

अघिल्लो वर्षकाे पहिलाे महिनाको तुलनामा यसवर्ष मुस्ताङ घुम्न आउनेको संख्या छ हजार चार सय ७६ ले वृद्धि भएको हो। जसमा सार्क राष्ट्रबाट छ हजार दुई सय १५ र अन्य राष्ट्रबाट २ दुई सय ६१ जना रहेका छन्। 
    
सन् २०२५ को जनवरीमा सार्क राष्ट्रबाट तीन हजार आठ सय ३० र अन्य देशका पाँच सय १६ जना मुस्ताङ आएका थिए। 

अघिल्लो एक वर्षमा एक लाख ६१ हजार १४२ विदेशी पर्यटक मुस्ताङ भ्रमण गरेका थिए।

विशेषगरी मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको गुप्तले बताए। राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग सहज बन्दै जान थालेकाले विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको प्रमुख गुप्तको भनाइ छ।

२०२६ मा दुई लाख विदेशी पर्यटक भित्रिने एक्यापको अनुमान रहेको छ।

मुस्ताङमा हिउँदको समयमा प्रतिकूल मौसमका बाबजुद पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्।

मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पर्यटकीय अफसिजनको समयमा समेत विदेशी पर्यटकको आगमन बढेकाले यहाँका पर्यटन व्यवसायीहरूमा आशा जगाएको बताए। 

विगतका वर्षहरूमा अफसिजनका कारण बन्द हुने मुस्ताङका होटल समेत यसपटक सञ्चालनमा रहेका छन्। मुस्ताङमा सडकको विकाससँगै बाह्रै महिना पर्यटकको आगमन भइरहेकाले यहाँका व्यवसायीहरूलाई मौसम प्रतिकूलताले असर नपारेको अध्यक्ष गुरुङले बताए।

पुस लागेसँगै यहाँको मौसमी तापक्रम माथिल्लो मुस्ताङमा २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ सम्म झर्ने गरेको छ । चिसोका कारण यहाँको स्थानीय जनजीवन आंशिक रूपमा प्रभावित रहेपनि पर्यटक भित्रिने संख्या भने बढिरहेको छ।

माघ २०, २०८२ मंगलबार १६:३१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।