म्युजिक भिडियोमा राजेश-करिश्माको 'कमब्याक'

म्युजिक भिडियोमा राजेश-करिश्माको 'कमब्याक'

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएको राजेश हमाल र करिश्मा मानन्धरको जोडी पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय हुन खोजेको देखिन्छ।

दुई दशकअघि ‘साथी’, ‘ढुकढुकी’ लगायतका दर्जनौं फिल्ममा सँगै काम गरेका यी दुई कलाकारले पछिल्लो एक दशकयता भने फिल्ममा सहकार्य गरेका छैनन्।

अहिले निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको ‘सलल फूलको थुङ्गा’ बोलको गीतमा उनीहरू पुनः स्क्रिन सेयर गर्दैछन्। अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमार्फत उक्त भिडियोको छायांकनका तस्बिर सार्वजनिक गर्दै लामो समयपछिको भेटघाटले खुसी तुल्याएको उल्लेख गरेकी छन्। उनी लेख्छिन्, ‘धेरैपछिको भेटघाट’।

अभिनेता हमालले पनि उक्त गीत सार्वजनिक हुन लागेको भनेका छन्। फिल्मको पर्दामा सफल देखिएको यो जोडी पछिल्लो समय म्युजिक भिडियोमा एकसाथ देखिन थालेको छ। यसअघि २०७६ मा निर्देशक पाण्डेकै निर्देशनमा ‘चट्ट बस देउरालीमा’ र २०७७ सालमा हरि हुमागाईँको निर्देशनमा अञ्जु पन्तको गीत ‘यादका लहरहरू’ मा पनि उनीहरूले अभिनय गरेका थिए।

यद्यपि फिल्मको पर्दामा जस्तो म्युजिक भिडियोमा उनीहरूको उपस्थिति उति सशक्त बन्न सकेको देखिँदैन। उनीहरूको केमेस्ट्रीलाई म्युजिक भिडियोको छोटो संरचनामा उतार्नु पनि चुनौतीपूर्ण छ। यद्यपि लामो समयपछि म्युजिक भिडियोमार्फत भएको उनीहरूको सहकार्यले दर्शकमाझ केही कौतुहलता भने जगाएको छ।

फिल्ममा उनीहरू एकसाथ नदेखिए पनि फरक फरक फिल्ममार्फत दर्शकमाझ आफ्नो उपस्थिति जनाउने गर्छन्। करिश्मा मानन्धर अभिनीत पछिल्लो फिल्म ‘परिवर्तन’ हो। जुन हलमा दुई साताअघिबाट हलमा चलिरहेको छ। यता राजेश हमाल अभिनीत पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ हो। जुन गत जेठ ९ गते प्रदर्शनमा आएको थियो। 

माघ २०, २०८२ मंगलबार १५:३४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।