एमाले र नेकपाबीच तालमेलमा भदौ २३ र २४ को घटना बाधक
काठमाडौं : एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोणमा एकरूपता नआएसम्म नेपाली कम्युनिस्ट पार्टीसँग चुनावी तालमेल नहुने स्पष्ट पारे। मंगलबार काठमाडौंमा प्रेस चौतारी नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखे।
दुई दलले भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनलाई हेर्ने दृष्टिकोण फरक छ। जेनजीको आन्दोलनलाई एमालेले प्रतिगमन मान्दछ भने नेकपाले क्रान्तिको रूपमा हेर्छ। गुरुङले पनि भदौ २३ र २४ गतेका घटनाक्रमलाई हेर्ने दृष्टिकोण दुई दलबीच फरक रहेको बताए।
उनले भने, "हामीले प्रतिगमन भनेका छौं, उहाँहरूले क्रान्तिकारी काम भन्नुभएको छ। यसले राजनीतिक दृष्टिकोण उत्तर र दक्षिणको जस्तो देखिएको छ। त्यसैले तत्काल चुनावी तालमेल हुन सक्दैन।"
तर, राजनीतिमा असम्भव कुरा पनि सम्भव हुने उनको भनाई छ। तर, एमाले उक्त घटनालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुने उनले स्पष्ट पारे। गुरुङले भने, "राजनीति भनेको असम्भवबाट सम्भव पनि हुन्छ। २/४ दिनमै कोर्स परिवर्तन हुन सक्छ भन्ने केही छैन। उहाँहरूले त्यो घटनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुभयो भने सहकार्य हुन सक्छ।"
प्रतिगमनलाई सच्याउन तयार हुने र एमालेको राजनीतिक लाइनमा आउने दलहरूसँग सहकार्यको ढोका खुल्ला रहने उनको भनाई छ। गुरुङले चुनावी तालमेल र चुनावपछिको सरकार निर्माणमा हुने सहकार्य फरक विषय भएको पनि प्रस्ट पारे।
मुलुकलाई अगाडि बढाउन ठोस भिजन र सिद्धान्त भएको पार्टी एमाले मात्रै रहेको उनको दाबी छ। उनले भने, "नेपालको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रियताका विषय उठाउने दल कहिले पनि पुरानो हुँदैन। नयाँ भनेर अराजकताले स्थान पायो भने राजनीतिक स्थिरता मिल्दैन।"
माघ २०, २०८२ मंगलबार १४:५६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।