‘५.५ फेडर युनिट’ भन्दा कम भोल्युममा ‘कुमारी’ प्रदर्शन नगर्न निर्देशक राउतको आग्रह
काठमाडौं : निर्देशक दिनेश राउत चलचित्र ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ।
प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक राउतले चलचित्रको साउन्ड क्वालिटीलाई ध्यानमा राख्दै देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निष्टहरूलाई विशेष आग्रह गरेका छन्।
निर्देशक राउतले प्राविधिकहरूलाई सार्वजनिक अपिल गर्दै चलचित्र प्रदर्शन गर्दा साउन्ड प्रोसेसरको भोल्युम ५.५ फेडर युनिटभन्दा कम नराख्न अनुरोध गरेका हुन्।
चलचित्रलाई अत्याधुनिक ‘इमर्सिभ फर्म्याट’मा साउन्ड मिक्सिङ गरिएको हुनाले दर्शकले पूर्ण सिनेम्याटिक अनुभव पाउन सकून् भन्ने उद्देश्यले यो प्राविधिक मापदण्ड तोकिएको निर्माण पक्षले जनाएको छ।
निर्देशक राउतका अनुसार ‘कुमारी’को साउन्ड मिक्सिङ र मास्टरिङ ५.५ फेडर युनिटमा गरिएको छ। साउन्डको ‘डाइनामिक्स’ सुरक्षित राख्न र दर्शकलाई वास्तविक ध्वनिको महसुस गराउन यो स्तर कायम गर्नु आवश्यक रहेको उनले बताए। निर्माण टोलीले हलहरूमा प्रदर्शन गर्नुअघि नै ५.५ फेडर युनिटमा ट्रायल शो समेत सम्पन्न गरिसकेको छ।
‘चलचित्रको प्रभावकारी प्रस्तुति र प्राविधिक पक्षमा कुनै कमी नआओस् भन्नका लागि हामीले हलहरूलाई ५.५ भन्दा कम भोल्युममा फिल्म नचलाउन अनुरोध गरेका हौँ’, निर्देशक राउतले भने।
उच्च प्राविधिक मापदण्डमा तयार पारिएको यस चलचित्रले नेपाली सिनेमाको प्राविधिक स्तरलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।
महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रमा अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य अभिनय रहेको छ। यो फिल्म माघ २३ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउनेछ।
माघ २०, २०८२ मंगलबार १२:४२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।