काठमाडौंमा डोजर चलाउनु रहर होइन, सुकुम्बासीलाई बाढीबाट जोगाउने प्रयास थियो : बालेन साह

काठमाडौंमा डोजर चलाउनु रहर होइन, सुकुम्बासीलाई बाढीबाट जोगाउने प्रयास थियो : बालेन साह

काठमाडौं : आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले आफ्नो ‘डोजर आतंक’ भनेर गरिने आलोचनाको बचाउ गरेका छन्।

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गढ मानिने झापा-५ मा घरदैलो अभियानका क्रममा बालेनले काठमाडौं महानगरपालिकामा मेयर हुँदा चलाएको अभियानबारे स्पष्टीकरण दिएका हुन्।

सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा स्थानीयले राखेको जिज्ञासाको जवाफ दिँदै बालेनले बाहिर हल्ला फिँजाइए जस्तो आफू गरिबमारा नभएको तर्क गरे। उनले काठमाडौंको नदी किनारमा बस्नेहरूलाई हटाउनुको मुख्य उद्देश्य उनीहरूको सुरक्षा रहेको दाबी गरे।

‘खोला छेउमा बसेका उहाँहरूको सुरक्षाको लागि त्यो कदम चालिएको हो। बाढी आउँदा उहाँहरू बसेको बस्ती डुबानमा पर्छ, ज्यान जोखिममा हुन्छ,’ स्थानीय मतदातासँगको अन्तरक्रियामा बालेनले भने, ‘हरेक वर्ष बर्खामा बाढी आउँदा उहाँहरूलाई निकालेर सुरक्षित स्थानमा सार्नुपर्छ। काठमाडौंमा हामीले गर्न खोजेको उहाँहरूलाई जोखिमबाट निकालेर सुरक्षित ठाउँमा राख्नु थियो। तर, बालेनले डोजर चलायो भनेर गलत भाष्य निर्माण गरियो। खासमा त्यो मान्छेको ज्यान जोगाउन गरिएको प्रयास थियो।’

बालेनले सुकुम्बासी समस्या समाधानका लागि विभिन्न समयमा बनेका भूमि आयोगहरूले वास्तविक सुकुम्बासीले भन्दा पार्टीका कार्यकर्ताले मात्र फाइदा लिएको आरोप लगाए।

‘२०४८ सालदेखि २३ वटा आयोग बने, तर समस्या जस्ताको तस्तै छ। आयोगमा पार्टीका मान्छे भर्ती गर्ने र उनीहरूले आफ्नै नजिकका मान्छेलाई लालपुर्जा बाँड्ने काम मात्र भयो,’ बालेनले भने, ‘यसले गर्दा जसको पहुँच छ, उसले लालपुर्जा माथि लालपुर्जा थप्यो, तर वास्तविक सुकुम्बासी सधैं पीडामा रहे। यो सिस्टम सुधार गर्नुपर्छ।’

उनले आफूले सुकुम्बासीलाई विस्थापन गर्न नभई उनीहरूको उचित व्यवस्थापन गर्न खोजेको दाबी गर्दै विपक्षीहरूले भोट बैंकको राजनीति गर्न आफ्नो अभियानलाई बदनाम गराएको बताए।

२०७९ को निर्वाचनमा भारी मतान्तरले विजयी भएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालेनको प्रतिस्पर्धालाई यसपटकको निर्वाचनको सबैभन्दा रोचक भिडन्तका रूपमा हेरिएको छ।

काठमाडौं महानगरको नेतृत्व गरिसकेका बालेनले झापा पुगेर ओलीसँगै आमने-सामने हुने आँट गरेपछि झापा-५ को चुनावी माहोल तातिएको छ।

माघ २०, २०८२ मंगलबार १०:४५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।